द्रुत बसको लेनमा अब डोरी लगाइने, तिहारपछि फेरि चलाइने
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
880
Shares
काठमाडौँ। रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवाको लेनमा अब डोरी लगाइने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले द्रुत बसको लेनमा अब डोरी लगाइने बताएका छन् ।
रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुने महानिर्देशक रिजालले बताए ।
सङ्घीय राजधानी काठमाडौँको जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने उद्देश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो ।
दसैँपछि रोकिएको द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउनेभएको छ । सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ । दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए । उनले भने “तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।”
द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ । असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।