arrow

सयपत्रीको व्यावसायिक खेती

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
marigold-flower1.jpg
तस्बिर-फाइल

पर्वत । पर्वतमा पहिलोपटक सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । घर वरिपरी तथा करेसाबारीमा प्राकृतिक कारणले उम्रिएका फूलका बोटबाट उत्पादित फूलले दसैं, तिहार तथा विभिन्न मेला महोत्सवमा माला तथा फूलको प्रयोग गर्दै आए पनि जिल्लामै पहिलो पटक दक्षिण पर्वतको विहादी गाउँपालिका-६, शालिग्रामस्थित हनुमानडाँडाका एक युवाले व्यावसायिकरुपमा फूल खेती सुरु गरेका हुन् । स्थानीय मेघनाथ भट्टराईले चालु आर्थिक वर्षदेखि परीक्षणको रुपमा गरिएको फूलखेती सफल भएको छ ।

उनले भट्टराई पशुपक्षी तथा कृषि फार्ममार्फत व्यक्तिगत लगानीमा झण्डै दुई रोपनी जमिनमा सयपत्री फूल लगाएका छन् । अहिले परीक्षणको रुपमा लगाइएको फूलले बजार राम्रो पाएमा व्यवसाय विस्तार गर्दैै जाने योजनासमेत बनाएका छन् । 

विभिन्न प्रकृतिका सयपत्री फूल बिक्रीबाट यसवर्ष न्यूनतम रु दुई लाखभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ । तिहारको बेला फूल बिक्रीका लागि स्थानीय सेतीवेणी बजार, हुवास, स्याङ्जा, वालिङलगायत बजारमा पठाउने तयारी गरेकोसमेत भट्टराईले बताए ।

जिल्लाभर फूलको खेतीगर्ने र बिक्रीवितरण गरी आम्दानी गर्ने प्रचलन नभएपपछि उनले विभिन्न सञ्चारमाध्यममा देखेको भरमा उक्त खेती गर्न सुरु गरेका हुन् । 

सुरुआतमा रु ५० हजार लगानी गरेर फूलको खेती गरिएको भट्टराईले बताए । गत साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन् । नेपालीको दोस्रो ठूलो पर्व तिहारसमेत नजिकिँदै गएका बेला बारीभरी पहेँलपुर बनेको फूलले सहजै बजार पाउने भट्टराईको विश्वास छ । 

कोदो र मकै खेती हुने बारीमा यस वर्षदेखि फूलखेती गरिएको हो । “मकै लगाए बाँदरले सखाप पारिदिन्छ, त्यो भन्दा फूलखेती गरेमा धेरै आम्दानी गर्न सकिएला भन्ने ठानेर कोदो र मकैको सट्टा फूलखेती गरेको हुँ”, उनले भने । 

यसअघि पर्वतका सातवटै पालिकामा यसरी व्यावसायिकरुपमा फूल लगाएको नपाइएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताए । उनले अन्य समयभन्दा तिहारको बेला बाहिरवाट लाखौँको फूल र माला आयात हुने गरेको बताउँदै जिल्लामै उत्पादन भएमा फूल आयात गरिरहनुनपर्ने समेत बताए । 

बाहै्रमास सयपत्री उत्पादन गर्न सकेमा कुनैपनि सभा समारोहमा बाहिरबाट फूल आयात गर्न नपर्ने र व्यावसायीले  समेत मनग्गे आम्दानी गर्न सकिने अध्यक्ष अधिकारीले जानकारी दिए । विहादी गाउँपालिका-६ शालिग्रामका वडाध्यक्ष मोहन बस्यालले जिल्लामै व्यावसायिक रुपमा सयपत्रीको फूलको खेती गर्ने भट्टराई पहिलो किसान भएको जिकिर गरे । 

वडामा उद्यमशील बन्छु भन्ने हरेक नागरिकलाई आफूले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै उनले मौसमी तथा बेमौसमी सयपत्री फूलको व्यावसायिक खेती टिकाउन सके विदेशबाट आयातित फूल र प्लास्टिकका माला विस्थापित हुने र वातावरणीय प्रदूषण हट्ने जानकारी दिए । 

तिहारमा जतिसक्दो प्राकृतिक फूलबाट बनेका माला लगाएर स्थानीय फूल उद्यमीलाई  प्रवर्द्धन गर्नसमेत आग्रह गर्दै वडाध्यक्ष बस्यालले यस अघि एक रोपनी क्षेत्रफलमा अदुवा, बेसार र खुर्सानी लगाउने किसानलाई प्रति व्यक्ति रु २० हजार अनुदान उपलव्ध गराएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ