arrow

भारतसँग श्रीलंकाको शर्मनाक हारपछि बोर्डका सचिवलाई हृदयाघात, दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
mohammad-shami-record-srilanka.jpg

काठमाडौँ । श्रीलंका क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् । 

श्रीलंका क्रिकेट बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले आफूले अस्ट्रेलियाबाट आफ्नो राजीनामा पठाएको बताए । उनलाई अस्ट्रेलियामा हृदयाघात भएको पत्ता लागेको थियो ।

गत साता विश्व कप आयोजक भारतसँग श्रीलंकाको तीन सय दुई रनको शर्मनाक हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा आक्रोश व्यक्त गर्दै श्रीलंका क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए । “तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ”, उनले भने । 

डि सिल्भाले अस्ट्रेलियामा नियमित मेडिकल जाँचका क्रममा आफूलाई हृदयाघात भएको थाहा भएको भन्दै बोर्डमा आफू निर्वाचित पदबाट राजीनामा दिने निर्णय गरेको बताए । उनले आफ्नो चिकित्सा अवस्था ‘स्पष्टरूपमा क्रिकेट विवादसँग सम्बन्धित तनाव र चिन्ताका’ कारण भएको उल्लेख गर्दै परिवारले आफूलाई पदबाट राजीनामा दिन भनेको बताए । 

बिहीबार मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलंका एक समयमा १४-६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो । यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो ।

शनिबार मन्त्री रणसिङ्घेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का पूर्ण सदस्यहरूलाई पत्राचार गरेर उनीहरूको समझदारी र समर्थनका लागि आग्रह गरेका थिए। “श्रीलंका खेलाडीहरूको अनुशासनको मुद्दा, व्यवस्थापन भ्रष्टाचार र म्याच फिक्सिङको आरोपमा श्रीलंका क्रिकेट घेरिएको छ”, पत्रमा रणसिङ्घेको भनाइ उद्धृत गर्दै श्रीलंकाली मिडियाले बताएका छन् । 

आइसिसीले राजनीतिक हस्तक्षेप भएको भन्दै बोर्डमा भएको भ्रष्टाचारको छानबिन गर्न गत महिना नियुक्त गरिएको तीन सदस्यीय प्यानल फिर्ता लिन मन्त्रीलाई बाध्य पारेको थियो । 

भारतसँगको शर्मनाक हारको व्याख्या गर्न कोचिङ स्टाफलाई बोलाइएको बोर्ड स्रोतले बताएको छ । श्रीलंकाले सन् १९९६ यता विश्व कप जित्न सकेको छैन । 

विश्व कप विजेता कप्तान अर्जुना रणतुङ्गाका भाइ एवं अर्का क्याबिनेट मन्त्री प्रसन्ना रणतुङ्गाले अगस्टमा संसद्लाई सन् १९९६ को जीत ‘हाम्रो क्रिकेटका लागि सबैभन्दा ठूलो अभिशाप भएको’ बताउनुभएको थियो । उनले भन्नुभएको थियो, “सन् १९९६ पछि क्रिकेट बोर्डमा पैसा आउन सुरु भयो र सँगै चोर्न चाहनेहरू पनि क्रिकेट बोर्डमा आए ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ