arrow

राहदानी बनाउन एकदिन अगावै टोकन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
gulmi-cdo.jpg
तस्बिर-फाइल

गुल्मी । गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । 

दसैं र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

दैनिकरूपमा सरदर ४० वटा राहदानीको आवेदन सङ्कलन गर्ने क्षमता रहेको कार्यालयमा हिजोआज दैनिक ९० देखि एक सयसम्म राहदानीपका लागि  आवेदन सङ्कलन हुने गर्दछ । 

कार्यालयमा अहिले सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेकाले भीडभाड कम गर्न एक दिनअगावै टोकन वितरण गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

कार्यालयको क्षमताभन्दा बढी सेवाग्राहीको चाप भएकाले कार्यालय समय अतिरिक्त थप समय व्यवस्था गरेर दैनिक एक सय जनाको राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने गरिएको र सोहीअनुसार एक दिन अगाडि नै टोकन वितरण गर्ने गरिएको उनले बताए । 

टोकन वितरण गर्दा व्यवस्थित हुने र पालोमा मात्रै सेवाग्राही उपस्थित हुने भएकाले भीड पनि कम हुने जनाइएको छ ।

कार्यालयको क्षमताभन्दा पनि सेवाग्राहीलाई प्राथमिकतामा राखेर कार्यालयले सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेको भनाइ थियो । 

अहिले देश तथा विदेशबाट पर्व मनाउन गाउँघर आउनेका साथै  समयको सदुपयोग गरेर नागरिकताको साथमा राहदानी बनाउने सेवाग्राही बढी हुने गरेको प्रशासन फाँटका नायब सुब्बा प्रेम खनालले बताए । 

यसैगरी नागरिकता लिने सेवाग्राहीको सङ्ख्यामा पनि उल्लेखनीयरुपमा वृद्धि भएको छ । 

दैनिक सरदर ४० देखि ५० नयाँ नागरिकता जारी हुने जिल्ला प्रशासनमा अहिले दिनमा एक सयभन्दा बढीले नयाँ नागरिकता र ५० भन्दाबढीले प्रतिलिपि लिने गर्दछन् ।

कार्यालयमा राहदानीसँगै नयाँ नागरिकता बनाउने र प्रतिलिपि लिनेहरुको चाप बढ्दै गएसँगै राति अबेरसम्म प्रशासन कार्यालयमा भीडभाड देख्न सकिन्छ । 

राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्यरुपमा भर्नुपर्ने भएका कारण दैनिक एक सय ४० भन्दा बढीले राष्ट्रिय परिचयपत्र भर्ने गरेको प्रशासनले जनाएको छ ।

सेवाग्राहीको सहजताका लागि विचौलीयाबाट कोही पनि नठगिउन भनेर कार्यालयले निःशुल्क राहदानीको आवेदन फाराम भर्ने व्यवस्था गर्दै आएको छ । 

कार्यालयभित्र सहयोगी कक्ष स्थापना गरेर निःशुल्करुपमा निवेदन लेख्नेदेखि निश्चित मूल्यमा हुलाक टिकटकोसमेतको  व्यवस्था मिलाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ