- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ ।
गृह मन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन गरेको हो ।
कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कार्यालयले जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढमा रहेका १४ गोदामको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा बजारमा चिनीको अभाव नरहेको पाइएको उनले बताए ।
“अन्य जिल्लामा जस्तो यहाँ चिनीको अभाव छैन”, शर्माले भने, “बजारमा खाद्य वस्तुमा लेबल र उत्पादन मितिसँगै बिक्री मूल्यसमेत टाँसी सामान बिक्रीका लागि राखिएको छ ।”
उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष बजारमा सुधार आएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेका ठूला गोदामको अनुगमन गरेको थियो ।
जिल्लामा आवश्यक पर्ने चिनी रहेको भेटिएकाले अहिले खासै समस्या नहुने किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए । उनले भने, “पहिलाको जस्तो खपत नहुने अनुमान गरेका छौँ । अहिलेसम्म त्यस्तो समस्या आएको छैन ।”
पसलेले सङ्घले तोकेको मूल्यमा बिक्री गरिरहेका पौडेलले जानकारी दिए ।
दसैँको समयमा जिल्लामा चिनीको केही अभाव भए पनि दसैँपछि बिस्तारै सहज हुँदै गएको उनले बताए ।
तिहारमा बढी मात्रामा मिठाई बनाइने हुँदा चिनीको खपत बढी हुने गर्दछ ।