arrow

पशुपतिमा राजनीति

प्रतिमूर्ति बाहिर लैजादैमा सर्दैन पशुपतिनाथ मन्दिर, भारतीय मिडियामा फैलाइँदैछ अफबाह

किन फैलाइँदैछ भारतीय मिडियामा पशुपतिको मन्दिर भारतको उत्तराखण्डमा बनाइँदैछ भनेर ? पशुपति क्षेत्र विकास कोष मौन, धार्मिक पर्यटक घटाउने मेलो

logo
गोविन्द अधिकारी,
प्रकाशित २०८० कार्तिक २६ आइतबार
pashupatinath1.jpg

काठमाडौँ । भारतका चारधामको दर्शन गरिसकेपछि काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गरेमात्र धार्मिक यात्रा पूरा हुने विश्वास गरिन्छ । बद्रीनाथ, द्वारका, जगन्नाथ पुरी र रामेश्वरमको यात्रा गरेपछि अन्तिममा पशुपतिनाथको दर्शन गर्ने गरिन्छ । 

नेपालको पशुपतिनाथको दर्शन गर्न लाखौँ भारतीय हिन्दूधर्मीहरू नेपाल आउने गरेका छन् । लाखौँ आउने भनिए पनि अब भारतीय हिन्दू धर्मावलम्बीहरु नेपाल नआउने सङ्केत देखिएको छ । 

पछिल्लो समय भारतले पशुपतिनाथ मन्दिरको प्रतिमूर्ति बनाउने भएको छ । भारतका प्रथम सीडीएस जनरल विपिन रावतको पुर्ख्यौली गाउँ उत्तराखण्डको सैन (बिरमोली) मा नेपालको पशुपतिनाथ मन्दिरको प्रतिमूर्ति बन्ने भएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार जनरल रावतको गाउँ सेवामा पशुपतिनाथ मन्दिर काठमाडौँसँगको सहकार्यमा मन्दिर निर्माण भइरहेको छ । जनरल रावतको सम्झनामा निर्माण हुन लागेको पशुपतिनाथ मन्दिरको शिलान्यास यही मे १८ मा गरिएको थियो । 

त्यहाँ परमार्थ निकेतनका अध्यक्ष स्वामी चिदानन्द सरस्वती र पूर्व मुख्यमन्त्री तीरथसिंह रावतले भूमि पूजन गरेका थिए । यस निर्माणमा निवृत्ति यादव अघि सरेका छन् । सन् २०२१ को डिसेम्बर ८ मा जनरल रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनले जनरल रावत आफ्नो गाउँ फर्केर आफ्नो गाउँको विकास गर्न चाहेको सपना अघि सारेका हुन् । 

डा हरिवंशराय बच्चन प्रतिष्ठानले जनरल रावतको सैन बिरमोली गाउँलाई दुई वर्षअघि दिएको छ । संस्थानलाई प्रदेश सरकारले पनि सहयोग गरिरहेको छ ।

सेनापति रावतका काका भरतसिंह रावतले सेन गाउँमा पशुपतिनाथ मन्दिर निर्माणका लागि ट्रस्टलाई जग्गा दिएका छन् । भरत सिंह रावतको परिवारलाई मन्दिर ट्रस्टमा समावेश गरिएको छ।

चारधाम यात्रापछि पशुपतिनाथको दर्शन नगरी यात्रा पूरा नहुने जनविश्वास छ । चारधाम यात्राका लागि पनि त्यही बाटो भएर जानुपर्छ । यसरी चारधाम यात्रा गरेपछि तीर्थयात्रीले पौरीको सैन गाउँमा रहेको पशुपतिनाथ मन्दिरको दर्शन गरी यात्रा पूरा गर्ने पूण्य प्राप्त गर्न सक्ने भन्दै त्यहाँ पशुपतिनाथको मन्दिर बनाउन लागिएको प्रचार गरिएको छ । 

यो मन्दिरका लागि पशुपतिनाथ ट्रस्ट काठमाडौँले तत्कालीन सदस्य सचिव डा मिलनकुमार थापाको सहयोगमा शालिग्राम ढुङ्गाबाट बनेको शिवलिंग, नन्दी महाराज, भोलेनाथको डमरु र त्रिशूल प्रदान गर्ने भनिएको थियो । जसरी अयोध्यामा श्रीराम र सीता माताको मूर्तिका लागि शालिग्राम ढुङ्गा ल्याइएको छ । त्यसैगरी उत्तराखण्डको पशुपतिनाथ मन्दिरमा नेपालको शालिग्राम ढुङ्गाबाट बनेको शिवलिङ्ग स्थापना गरिनेसमेत बताइएको छ ।

निवृत्ति यादवका अनुसार मन्दिरको संरचना नेपालको पशुपतिनाथ मन्दिरजस्तै हुनेछ । मन्दिरका लागि जुनसुकै काठको काम नेपालबाट बनाइने छ भने ढुङ्गाको काम राजस्थानका कालीगडले गर्नेछन् ।

के भन्छ पशुपति क्षेत्र विकास कोष 
पशुपति क्षेत्र विकास कोषले सैन गाउँमा मन्दिर निर्माणको अनुमति नभई प्रतिमूर्ति दिइने बताएको छ । 

'पशुपति विकास कोषलाई पशुपति बनाउन दिने भन्ने अधिकार नै हुँदैन । त्यो हैसियत पनि विकास कोषलाई हुँदैन । यो चाहिँ उनीहरूले मन्दिर बनाउने कुरामा प्रस्ताव जानकारी सहित के सहयोग गर्न सकिन्छ भनेर आएको हो ।' पशुपति विकास कोषको उच्च स्रोतले भन्यो । 

क्यानडा, अस्ट्रेलिया, पाकिस्तान र अमेरिका लगायतमा पनि पशुतिबाट लगेको प्रतिमूर्ति बनेको छ । त्यस्तै मन्दिर बनिएको ठाउँमा शिवलिंग, माटो कोषले दिने गरेको छ ।

त्यस्तै खालको सहयोग कोषले आफ्नो प्रचार प्रसार प्रवर्द्धन पनि हुन्छ भनेर गरेको बताइएको छ । पशुपति नै बनाउन अनुमति दिने नदिने केही पनि कुरा नभएको कोषले जनाएको छ । 

'पशुपतिनाथ जस्तै मन्दिर त्यही आकारमा उही जस्तो त कहीँ बन्न सक्दैन । उनीहरूले प्यागोडा शैलीको मन्दिर बनाएर शिवलिंग राख्ने हो । पशुपति नै बनाउन सक्ने सम्भावना हुँदैन' कोषका एक पदाधिकारीले भने, 'त्यहाँ उनीहरूको आफ्नै जग्गा पनि छैन । विवाद पनि जारी छ । बजेटको सुनिश्चितता पनि छैन । पशुपतिको प्रतिमूर्ति बनाउने हो भने हामीले तिमीहरूलाई बनाइसकेपछि समवन्य र सहकार्य गर्छौँ भनेको हो । त्यहाँ एउटा संस्थाले गर्छु भनेको थियो ‍ऊ आफैँ सक्ने स्थानमा छैन । चन्दा उठाएर पुराण लगाएर पनि चन्दा उठेन । उनीहरूले गरे भने हामीले पाँच वटा शिवलिंग र शालिग्राम दिने भन्ने कुरामात्र हो ।

'उनीहरूको जग्गा पनि छैन । पशुपतिनाथ बनाउन पाउने भन्ने कुरानै छैन । जम्मा दुई रोपनी भन्दा कम जग्गा छ त्यहाँ । दुई रोपनी पनि नभएको ठाउँमा कसरी पशुपति नाथ मन्दिर बन्छ । त्यहाँ सानो एउटा मन्दिर बन्छ शिवलिंग र शालिग्राम राख्छन् । पशुपतिनाथको प्रतिमूर्ति मानर पूजा गर्छन् । बनाउने प्रचारप्रसार गर्ने कसले चन्दा उठाउनुपर्ने मिडियाबाजी गर्ने उनीहरूकै कुरा हो' उनले थपे । 

तत्कालीन सदस्य सचिव मिलनकुमार थापाले भने,' पशुपति विकास कोषले अनुमति दिने अधिकार पनि छैन र दिएको पनि छैन । हामीले अन्य विभिन्न देशहरूमा जस्तै प्रतिमूर्ति बनाउने ठाउँमा भक्तले बनाउन चाहे शालिग्राम माटो र पशुपतिले चाहे एउटा शिवलिंग दिन सक्छ ।' 

उच्च स्रोतका अनुसार भारतले प्रतिमूर्ति लगिसकेको छैन । यो चाहिँ उनीहरूले मन्दिर बनाइ सकेपछि मन्दिरको संरचना सकिएपछि कोषलाई जानकारी गराउने हो ।

उनीहरूले शवलिंगको आकार यत्रो चाहियो भनेर भनेपछि कोषले आफ्नो नियम अनुसार बजेट जुटाएर सहयोग गर्छ । नेपाल भित्रै पनि प्रतिमूर्ति बनाउने हुँदा कोषले अनुदान सहयोग गर्छ ।

धादिङको रुबी भ्यालीमा पनि शिवको मूर्ति लगेर राखिदिएको छ । हिन्दू धर्मको प्रचारका लागि र पशुपतिनाथ भगवानको प्रवर्द्धन गर्नका लागि कोषले यस्तो गर्ने गरेको छ । प्रचार गर्ने, शिव सर्किट बनाउने, शिव सर्किटसँग जोड्ने भन्ने छ ।

तर पशुपतिनाथ बनाउन दिने भन्ने छैन । कसैले घरमै पशुपतिको मन्दिर बनाउने भन्यो भने पनि कोषले दिन्छ त्यस्तो अभ्यास पनि छ । त्यही अनुसार कोषले दिएको हो । यो ठूलो कुरा होइन माटो र शिवलिंग लिएर जाने कुरा भएको हो ।'

उनी दूतावासमार्फत पत्र पठाएर आएका थिए । अहिले उनी भारतीय दूतावासको सम्पर्कमा पनि रहेका छैनन् । अहिले अतिरञ्जित गरे पशुपतिले प्रतिमूर्तिको अनुमति पनि नदिन सक्छ ।

उनले डिसेम्बर मै विपिन रावतको तिथिकै दिन उद्घाटन गर्छु भनेका थिए । अहिलेसम्म जग्गाको व्यवस्थापन पनि हुन सकेको छैन । पशुपतिले दिने गरेको त्यस्तो शिवलिङको मूल्य कम्तीमा ३ लाख पर्न आउँछ । 

पशुपतिमा अनुसन्धानकर्ता आए पनि विशेष तरीकाले आउने गरेका छन् । फोटो खिच्न पनि अनुमति छैन त्यसरी त्यही बन्न सम्भव छैन । तर केही महिनाअघिमात्रै एक युट्युबरले पशुपतिभित्रको सबै भिडियो युट्युबमा राखेकाे  थियो । यसबारेमा पशुपति कोषले कुनै कारबाही गर्न सकेन । यस्ता किसिमका कमजोरी कोषले देखाउँदै आएको छ । 

कहाँ कहाँ बने प्रतिमूर्ति 
अहिलेसम्म विदेशमा पशुपतिनाथका प्रतिमूर्ति स्थापना भएका छन् । त्यसका लागि कोषले शिवलिङ शालिग्राम र पशुपतिनाथको माटो दिने गरेको छ ।

यसअघि बेलायतमा शिवलिंग र शालिग्राम दिइएको थियो । शिवलिंगमा जल अर्पण गर्दा शालिग्राम चाहिन्छ । शिवलिंगको मुनिबाट पशुपतिनाथको माटो पनि राखेर पूजा गरिन्छ । 

बेलायततमा कल्पना धमलाले पशुपतिनाथ जस्तै प्रकारको प्रतिमूर्ति मन्दिर बनाएकी छिन् । अष्ट्रेलियामा आचार्य राजन शर्माले बनाएका छन् । उनले लुम्बिनी पशुपतिलगायत अन्य मन्दिर पनि बनाएका छन् । शर्मालाई कोषले माटो शालिग्राम र शिवलिङ्ग पठाएको थियो । ष्ट्रेलियामा प्रदीप ढकाल र बेलायतमा मिलनकुमार थापा सदस्य सचिव हुँदा यस्तै प्रकारको सहयोग भएको थियो । 

को हुन् निवृत्ति यादव उनी 
निवृत्ति यादव भारतीय वरिष्ठ साहित्यकार डा. हरिवंश राय बच्चन (अमिताभ बच्चनका बाबु) प्रतिष्ठानका संस्थापक हुन् । यादवलाई देशका प्रथम सीडीएस जनरल विपिन रावतको पुर्ख्यौली गाउँ साइनलाई धर्मपुत्री बनाएर समाजको लागि राम्रो काम गरेकोमा सम्मान गरेको छ।

यस अवधिमा उनलाई केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डको सल्लाहकार प्यानलको सदस्यको जिम्मेवारी पनि दिइएको थियो । उनी भारतीय दूतावासको संस्कृति विभागले पनि मौखिक रूपमा सहजीकरण गरिदिन भन्ने हिसाबले आएका हुन् । 

किन खेले प्रचण्डसँग 
मा‌ओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि निवृत्ति यादवले खेलेका छन् । पछिल्लो पटक निवृत्ति यादव सीडीएस जनरल विपिन रावतको बारेमा भन्न प्रचण्डसँग भेट गरेका थिए ।

निवृत्ति यादव प्रधानमन्त्रीसँग भेट्दा सीडीएसको बारेमा मात्र कुरा गरे । त्यस स्थानमा विद्यालय तथा अन्य क्षेत्रमा भएको प्रगतिको जानकारी उनले प्रधानमन्त्रीलाई गराएका थिए ।

'सो समय प्रचण्डले राम्रो गर्नुस् शुभकामना मात्रै भनेको हो । बालुवाटार फर्किएपछि उनले प्रचण्डसँग भिडियोको फोटो फेसबुकमा हालेर पशुपतिनाथ मन्दिर बनाउन लागेको प्रचण्डले पनि सहयोग गर्छु भन्नु भएको छ भनेर लेखे' स्रोतले भन्यो । 


कम्युनिस्टको पशुपतिमा नजर
स्रोतले उक्त कुरा बताए पनि कहिलेकाहिँ कम्युनिस्ट चरित्र बुझ्न नसकिन पशुपति काेषका एक पूर्व सदस्यले बताए र उनी भन्छन्, 'कम्युनिस्टहरू धर्म मान्दैनन् तर नेपालको कम्युनिष्टहरुको चरित्र विचित्रको छ । पशुपति गएर पूजा गर्छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा मूल भट्ट निकाल्न प्रचण्डले खोजेका थिए । त्यो विवाद चर्कियो र सर्वोच्चले नै त्यसको मुद्दा हेरेको थियो । तिनै प्रचण्ड यसबेला पशुपतिमा खेलेका छन् ।'

उनी त्यसै रोकिएनन् । अगाडि भने, 'एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरी सुनमा तलमाथि गरेको आरोप लाग्दै आएको छ । त्यसको निगरानी भारतले गरिरहेको छ । उसले पशुपति नै भारतमा बनाउन सके आफूलाई फाइदा हुने देखेको हुन सक्छ ।' 

किन अफवाह फैलाउँदै छन् भारतीय सञ्चारमाध्यमहरू 
भारतीय सञ्चारमाध्यमहरू पछिल्लो समय पशुपतिनाथलाई लिएर बढाइचढाइमा लागेका छन् । कोषका पदाधिकारीको दाबीलाई मान्ने हो पशुपतिनाथ केवल पशुपतिमै रहने छन् ।

अन्य देशमा दिइएको पशुपतिको प्रतिमूर्ति मात्र हो । यसको मतलब यो होइन कि यसको प्रतिस्थापन नै त्यहाँ गरियोस् । तर भारतीय मिडियाहरूले यसरी लेखिरहेका छन् वा सरकारकै बोली लेखेका हुन् । धर्मशास्त्रीका अनुसार भारतको चारधामपछि पशुपतिनाथकै दर्शन गरेपछि तीर्थयात्रा पूरा हुन्छ । यसलाई चाहिँ भारतीय मिडियाले बङ्गाउन खोजेका छन् । 

 यस विषयमा पशुपति क्षेत्र विकास कोष र सरकार दुवै मौन रहेका छन् । दुवैले सो कुराको खण्डन अहिलेसम्म गरेका छैनन् । यसबाट भने शंका गर्ने ठाउँ रहेको छ । 

धार्मिक पर्यटक बढाउन विभिन्न योजना पनि गरेको बताउने सरकारले पशुपतिमाथि नै राजनीति गरेको हो भने यसका दुर्दिन आउन धेरै समय नलाग्ने धर्म पंडितहरुको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ