arrow

गगनले प्रचण्डलाई भने – गलत गलतै हो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
gagan-prachanda.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गलत गरेको भन्दै त्यसलाई स्वीकार्नुपर्ने बताएका छन् । टिकटक बन्द गर्ने निर्णय सत्तापक्ष र प्रतिपक्षको सहमतिमा भएको हो भनेर प्रधानमन्त्रीले भनेपछि कहाँ र कहिले कांग्रेससँग सहमति भयो भनी प्रश्न गर्दै त्यही काम अरुले गर्दा गलत र आफूले गर्दा सही भन्ने नहुने दृष्टान्त बताउँदै गलत गलतै भएको स्पष्ट पारे । 

सामाजिक संजालमा लेख्दै महामन्त्री थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले भन्नुभएछ –‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो।’
प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?’

थापाले तीन बुँदामा समेटेर प्रचण्डलाई सम्झाउने क्रममा दुई जना नेताहरु कोठामा बसेर गरिने सहमति पार्टीको हु्न नसक्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाईसमेत पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी नभएकोसमेत सम्झाएका छन् । 

उनले पहिलो बुँदामा लेखेका छन्, ‘प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस् । यो तपाईहरू बीचको समझदारी हो पार्टीहरू बीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टीभित्र छलफल हुनुपर्छ। अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौँ पार्टीले बोक्न सक्दैन।’

दोस्रो नम्बर बुँदामा उनले लेखेका छन्, ‘यहीँ प्रसङ्गमा कति साथीहरूले –सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल् ? भन्ने कुरा उठाउनु भएको छ। त्यसको उत्तर हो, मिल्छ। गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौँ,आज पनि र भोलि पनि भन्छौँ । सत्तामा हुँदा गलत पनि ठीक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन । बरु,सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत हो।’

तेस्रो नम्बर बुँदामा उनले लेखेका छन्, ‘जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौँ । हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन। रङ इज रङ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ