arrow

विश्वकपमा फेरि पनि पुरानै टिमबीच उपाधि भिडन्त, अष्ट्रेलिया फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
worldcup-2023-travis-head.jpg

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि फेरि पनि पुरानै टिमबीच भिडन्त हुनेछ । एक पटक पनि उपाधि नजितेका दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सेमिफाइनलबाटै बिदा भएपछि फेरि पनि पुरानै टिमले उपाधि जित्ने भएका हुन् । 

न्यूजिल्याण्डलाई हराएको भारत र दक्षिण अफ्रिकालाई हराएको अष्ट्रेलिया उपाधिका लागि भिड्ने भएका हुन् । 

पहिलो सेमिफाइनलमा भारतले बुधबार न्यूजिल्याण्डलाई ७० रनले हराएको थियो भने बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ३ विकेटको जित निकाल्दै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।   

अष्ट्रेलियाले पाँच पटक उपाधि जितिसकेको छ भने भारतले दुई पटक उपाधि जितिसकेको छ । इडेन गार्डेनमा भएको खेलमा २१३ रनको चुनौती अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । 

अष्ट्रेलियाका लागि ट्राभिस हेडले ४८ बलमा ६२, स्टेभेन स्मिथले ३०, डेभिड वार्नरले २९ तथा जोश इंग्लिसले २८ रन बनाए । 

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोट्जी र ताब्रेज शाम्सीले २–२ विकेट लिए । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २१२ रन बनाउन सक्यो । २४ रन जोड्दा ४ विकेट गुमाएर निकै नै कमजोर देखिएको दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले एकल प्रदर्शन गरे । 

उनले ११६ बलको सामना गर्दै १०१ रन बनाए । उनले विश्वकपको कुनै पनि नकआउट चरणमा बनाएको यो दक्षिण अफ्रिकाका लागि कीर्तिमानी शतक हो । यसअघि कसैले पनि शतक बनाउन सकेका थिएनन् । 

त्यस्तै हेन्रिच क्लासेनले ४८ बलमा ४७ रन जोडे । जेराल्ड कोट्जीले १९ रन बनाए । दक्षिण अफ्रिकाले १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाउँदा वर्षाले खेल अवरुद्ध भएकामा केही समयमै वर्षा रोकिएसँगै पुनः खेल अगाडि बढेको थियो । 

मिचेल स्टार्चले  र पाट कमिन्सले समान ३ तथा जोश हाज्लेवुड र ट्राभिस हेडले समान २ विकेट लिए ।

दक्षिण अफ्रिका लिग चरणको दोस्रो तथा अष्ट्रेलिया तेस्रो भएर सेमिफाइनलमा पुगेको थियो । अष्ट्रेलिया पाँच पटकको विश्वकप विजेता हो । 

योसँगै विश्वकपमा फेरि पनि पुरानै टिम च्याम्पियन हुने भएको छ । अष्ट्रेलिया दोहोरो ह्याट्रिक र भारत पहिलो ह्याट्रिक गर्ने लक्ष्यसहित आइतबार अहमदाबादमा दिउँसो २ः१५ बजे भिड्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ