arrow

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
hulaki1.jpg
तस्बिर-फाइल

बाँके । बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । 

विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए ।

“पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा घण्टामै पुगिन्छ”, यादवले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि धेरै सहज भएको छ ।”

बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज-गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकबाट पूर्वतर्फ १० किलोमिटर क्षेत्रमा हुलाकी सडक निर्माण भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए ।

उनका अनुसार राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटरमा एपिक्स कन्काई खड्का जेभीले रु ७६ करोडको लागतमा कालोपत्र गरिरहेको छ भने नेपालगञ्ज-गुलरिया सडकखण्डको २८ किलोमिटरमध्ये ११ दशमलव छ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले काम गरिरहेको छ ।

नेपालगञ्जको पुष्पलाल चोकबाट पूर्वतर्फको १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तार ज्ञानिश शारदा जेभीले रु १२ करोडमा गरिरहेको छ ।

तीनवटै हुलाकी सडकको काम तीव्रगतिमा भइरहेको इन्जिनियर पाण्डेको भनाइ छ । 

शनिबारमात्रै हुलाकी सडकको अनुगमन गरेकी नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपा शर्माले काम तीव्रगतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत् पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए ।

उनले हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ