काठमाडौँ । नेपालको आर्थिक र सामाजिक विकासमा बेलायत र नेपालका गैरसरकारी क्षेत्रको सहकार्यमा भएका कार्य र उपलब्धिबारे काठमाडौँस्थित बेलायती राजदूतावासमा समीक्षा सम्मेलन गरिएको छ ।
नेपाल-बेलायत गैरसरकारी सञ्जाल (ब्राङ्गो) को आयोजनामा भएको उक्त सम्मेलनमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सय वर्ष पुगेका अवसरमा गैरसरकारी क्षेत्रबाट पनि सशक्त र प्रभावकारी सामाजिक परिवर्तन भएको निचोड निकालिएको छ ।
उक्त सञ्जालअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण तथा जलवायु परिवर्तनका क्षेत्रमा हिमाल, पहाड र तराई क्षेत्रमा भएका गतिविधि र नवप्रवर्तनबारे सम्बन्धित संस्था, अभियन्ता र विज्ञहरुबाट भएका काम र प्रभावको लेखाजोखा गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेनले नागरिक क्षेत्रबाट दुवै देशमा भएका सकारात्मक परिवर्तनको प्रशंसा गर्दै नेपालको विकासमा बेलायतको सक्दो सहयोग र सहकार्य जारी रहने बताए ।
ब्राङ्गोका अध्यक्ष निक हिन्टनले सहकार्य र सेवा विस्तारका लागि उक्त सञ्जालको अवधारणा आएको र यसबाट सकारात्मक परिवर्तनमा भूमिका निर्वाह भएको बताए ।