arrow

अर्थतन्त्र सुधार्न सहकार्यको खाँचो रहेकोमा सरकार–निजी क्षेत्रको एक मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
sejon-2080-08-15.jpg

काठमाडौँ । अर्थतन्त्रको सुधारमा सरकार र निजी क्षेत्रको एक मत देखिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारण सभाका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा एकै मञ्चमा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानमा सामुहिक सहकार्यमा जोड दिए । 

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ सम"हले अवान्छित फाइदा उठाउन खोहिरहेको बताए ।  

अहिलेको व्यवस्थाप्रति स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भन्दै खड्काले  सरकार जिम्मेवारीसाथ प्रस्तुत हुने बताए । 

अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै उनले चाँडै अर्थतन्त्र लयमा फर्किने दाबीसमेत गरे । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पूँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको उनको भनाइ छ । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ऋणीसँग कुनै बैकले बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन अनुरोध गरे । 

बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बैकले फिर्ता गराउने उनको प्रतिवद्धता छ । गभर्नर अधिकारीले गत आर्थिक वर्षमा बढी लिएको ४ अर्ब ७६ करोड ब्याज फिर्ता गराएको स्मरण गराए । 

उनले बैंकहरुले बढी ब्याज लिए भनेर तथ्य भन्दा बाहिर गएर गुनासो नगर्नसमेत सबैलाई आग्रह गरे । उनले बजेटमा भएका कुरालाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सहयोग गरिरहेको बताए । 

आर्थिक शिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने भन्दै यस्तो बेला बैंकहरुले प्रोभिजन बढाउनु पर्ने भएकाले राष्ट्र बैकले टाइट गरेको बताए । 

‘खराब कर्जा नबढोस भनेर टाईट गरेको हो’ उनले भने ‘दक्षिण एसियाको तुलनामा नेपालमा खराब कर्जा कम छ ।’ अहिले जसले काम नगरेपनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाउने गरिएको भन्दै उनले यसो गर्नुको अर्थ नभएको बताए । काम कोही पनि नगर्ने दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कन नहुने उनको भनाइ छ । 

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले कर्जाको ब्याजदर १ प्रतिशतले घटेको बताए । अहिल बैंकको आधारदर (बेसरेट) एकल अंकमा रहेको जानकारी गराए । उनले ब्याजदर अझै घट्दै जानेसमेत जानकारी गराए । 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने सरकार, राष्ट्र बैकले स्वीकार गर्नुपर्ने बताए । 

यसलाई स्वीकार गरेर समाधानमा जानु पर्ने उनको भनाइ छ । उनले राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पहुचको आधारमा भन्दा विज्ञताको आधारमा हुनुपर्ने बताए । 

उनले अहिलेको अवस्थामा राष्ट्र बैंक माइक्रोम्यानेजमेन्टतिर लागेको बताए । अझै पनि अर्थतन्त्र सुधारका लागि जे गर्छन् पशुपतिनाथले पाउँछन् भनेर बस्न नहुने उनको भनाइ छ । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिको प्रकृयाका कारण लगानी भित्रन नसकेको बताए । 

नेपालमा माइक्रो र स्मल इन्टरप्राइजेजमा ध्यान दिनु पर्ने सुझाव उनको छ । साना उद्यमीको रक्षा गर्न सके त्यसले अर्थतन्त्रमै योगदान पुग्ने उनको भनाइ छ । 

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैकले जमानी बस्नेलाई कालोसूचीमा राख्न गरेको व्यवस्था स्वागतयोग्य रहेको प्रतिक्रिया दिए । 

५ विधामा ६ पुरस्कृत, १ जनालाई फेलोशिप
कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ५ विधामा ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । एक जनालाई फेलोशिप प्रदान गरेको छ । 

सेजनले प्रत्येकवर्ष प्रदान गर्ने सेजन अवार्डबाट यसवर्ष कान्तिपुरकर्मी मातृका दाहाल र देवेन्द्र भट्टराईलाई पुरस्कृत गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई १ लाख राशीको उक्त अवार्ड प्रदान गरिएको हो ।

यस्तै क्लिकमान्डुकर्मी राजेश बर्मालाई सेजन डिजिटल मिडिया अवार्डले पुरस्कृत गरेको छ । जसको राशी ५० हजार रहेको छ । त्यस्तै भोला चालिसे लिवरल जर्नालिजम् अवार्ड हिमाल खबरका रमेशकुमार न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । 

सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिकाकी मुना कुँवरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । यस्तै सेजन ब्रोडकाष्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५० हजार रुपैयाँको हो ।

त्यस्तै एक लाख राशीको स्व.सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेलाई प्रदान गरिएको छ । कार्यक्रममा सेजनले हरेक वर्ष प्रकाशन गर्ने ‘अर्थनीति सेजन म्यागेजिन २०८०’ सार्वजनिक गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ