arrow

सहकारीको करोडौँ रकम घोटालाः वडाध्यक्ष, पत्रकार र अधिवक्ताविरुद्ध पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
Mitramilan sahakari.jpg

पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम घोटला गरेको आरोपमा वडाध्यक्ष, पत्रकार र अधिवक्ताविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनीहरुको खोजी पनि सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा-२१ का वडाध्यक्ष दीपक सुवेदी, प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्ष विजय लम्साल र अधिवक्ता जनकल्याण पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

उनीहरुसहित अन्य ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । जसमा सहकारीका सञ्चालक समितिका पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकार छन् । 

सहकारीका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । सहकारीको रकम हिनामिना गरी फरार हुन खोजेको भन्दै बचतकर्ताको उजुरीपछि पौडेल र अधिकारीलाई एक महिना अघि नै पक्राउ गरिएको थियो । 

जिल्ला अदालत कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको छ । आरोपीहरूको खोजी सुरु भैसकेको प्रहरीले जनाएको छ । सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकारसहित ३० जना विरुद्ध पुर्जी जारी भएको हो । 


बचतकर्ताको रकम फिर्ता नदिएको भन्दौ सञ्चालकहरूविरुद्ध पीडितले धमाधम उजुरी दिइरहेको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।
 
सहकारीको वित्तीय विवरणमा कैफियत देखिएको र करिब रु २६ करोड ८३ लाख भन्दा बढी रकम हिमामिना भएको हुनसक्ने सहकारी रजिष्ट्रारको कार्यालय पोखराको अनुमान छ । 

सहकारीको रकम गैरकानूनीरुपमा अपचलन गरि मिडिया, रेष्टुरेन्ट, घरजग्गा लगायतमा लगानी भएको पाइएको छ ।

सहकारीको रकमको विषयमा अघिल्ला वर्षमा पनि किचलो हुँदै आएको थियो । तर राजनीतिक पहुँचका आधारमा थामथुम पारिँदै आएको थियो । 

अर्जुन गिरी एमाले कास्कीका जिल्ला सदस्य हुन् । वडाध्यक्ष सुवेदी र अधिवक्ता पराजुली एमालेका विभिन्न जिम्मेवारीमा छन् ।

सहकारीका उपाध्यक्षसमेत रहेका लम्साल प्रेस युनियन कास्कीको केही महिना अघि सम्पन्न अधिवेशनमा अध्यक्षमा दावी गरेका थिए । पछि उनी उपाध्यक्षमा बस्न राजी भएका थिए । लम्साल पनि ताण्डव न्यूजमै आवद्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ