- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौँमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरू हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि जनतामा आशाको सञ्चार नदेखिएको बताए । उनले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको उल्लेख गरे ।
उनले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत् बैठक र केही नयाँ घोषणा गर्नुपर्ने देखिएको बताए । उनले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री दाहालले व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारी बोधको अनुभूति गराउनु आजको आवश्यकता भएको बताए । उनले अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताए ।
उनले अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतीपूर्ण भएको बताए । उनले नकारात्मक भन्दा पनि मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउन सके नेपालमा प्रचुर सम्भावना रहेको बताए ।