arrow

उद्योग खोलेर जनतालाई रोजगारी दिन पूर्वराजालाई माधव नेपालको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
Madhav Kumar Nepal.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशमा एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्मा सहभागी नगराएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहमतिको पालना नगरेको आरोप लगाएका छन् । उनले पार्टीलाई मन्त्रिपरिषद्मा सामेल गराउने विषयमा थप कुराकानी गर्ने स्पष्ट पारेका हुन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताए । 

उनले अहिले अर्थतन्त्र कामचलाउको अवस्थामा छ भनेर चित्त बुझाएर बस्न नहुने उल्लेख गरे । उनले भने, “विभिन्न कारणले धेरै व्यवसायीको हालत खराब भएको छ । ऋणको ब्याज बढेको छ । ऋण तिर्न नसकेर गम्भीर सङ्कटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा ब्याजदर घटाएर हुन्छ  राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नु पर्दछ ।” 

अध्यक्ष नेपालले जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले बेथिति र विसङ्गति अन्त्यका लागि पटक-पटक आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गर्दैआएको बताए । 

उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमै रहने वातावरण निर्माण गरिनुपर्नेमा उनले जोड दिए । एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको अध्यक्ष नेपालले स्पष्ट पारे । 

“हामी कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ । हाम्रो निम्ति राष्ट्र र जनता नै मूल कुरा हुन् । राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको प्रवर्द्धन र स्वाभिमानको रक्षा हाम्रो निम्ति मुख्य कुरा हुन्”, उनले भने ।

केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आफ्नो विकासको प्राथमिकता तोकेर त्यही अनुरुप काम गर्नुपर्ने अध्यक्ष नेपालको सुझाव थियो ।

अर्को प्रसंगमा अध्यक्ष नेपालले बालुवाटार निवास प्रकरणमा आफू संलग्न रहेको भए छानबिन गर्न चुनौतीसमेत दिएका छन् । उनले भने, ‘कोही माइकेलालले भनोस्, माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर ।’

आफू झण्डै दुई वर्ष प्रधानमन्त्री भएको स्मरण गर्दै उनले त्यसबेला प्रधानमन्त्री निवास विस्तारको योजना नै सुनाए । उनले अनाहकमा आफूलाई देखाएर भ्रष्टाचारको विषयलाई कमजोर नपार्न आग्रह समेत गरे ।

उनले आफ्नो पार्टी जनहितविपरीतका सबै क्रियाकलापको विरुद्धमा रहेको दाबी गर्दै उनले विद्यमान बेथिति र विसंगति अन्त्यका लागि सरकारलाई पटक पटक ध्यानकर्षण गराइएको बताए । 

देशको आर्थिक अवस्था सुधारका लागि ठोस कदम चाल्न आवश्यक रहेको भन्दै उनले समयमै मुलुकको अराजकता अन्त्यमा हुनुपर्ने बताए । 

उनले राजावादीहरुको पछिल्लो क्रियाकलापको पनि आलोचना गरे । उनले भने, ‘जनताका छोराछोरी राष्ट्रपति हुँदा देखिसहेका छैनन् ।’ उद्योग खोलेर जनतालाई रोजगारी दिन पूर्वराजालाई उनको सुझाव थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ