arrow

मौलिक हक

हारगुहारले निकास ननिस्केपछि प्रसाईँले प्रधानमन्त्रीलाई सोधे – लाज त लाग्यो होला

काठमाडौँका सडकको दुरावस्थाले पीडित ह्विलचियर प्रयोगकर्ता प्रसाईँको यो पीडादायी भिडियो  

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
sagar-prashain.jpg

काठमाडौँ । ह्विलचियर प्रयोगकर्ता सागर प्रसाईँले घरलाग्दो भिडियो शेयर गरेका छन् । उनले काठमाडौँका सडकमा देखिएको कन्तविजोगलाई उजागर गर्दै भिडियो शेयर गरेका हुन् । 

सामाजिक संजालमा केही लेखेर उनले भिडियोसमेत शेयर गरेका हुन् । उनले बाध्य भएर भिडियो बनाएकोसमेत उल्लेख गरेका छन् । 

यस्तो छ उनको सामाजिक संजालको स्टाटस–
बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाइदिनुहोला । 
मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा ९, बत्तीसपुतलीको अरनिको मार्गमा बस्छु । यही मङ्सिर को ११ गते म घरबाट बाहिर निस्किदा मेरो घर अगाडिको मूलबाटोमा ठूला ठूला खाल्डा खन्न थालिएका थिए ।  

एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्केँ । २–३ दिनमा पूरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो ।

एक हप्तासम्म पनि म घरको घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट एकदिन पछाडि कार्य प्रगति हुँदैछ, चाँडै सकिन्छ भन्ने खबर आयो । 

फेरि काठमाडौँ महानगरपालिकाको हटलाइनमा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिवजीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलिदेखि नै हिँड्ने बाटो खुलाउँछौँ भन्नुभयो ।

फेरि प्रगति शून्य । त्यसपछि मैले वडा नं वडाध्यक्षलाई सम्पर्क गरेँ । उहाँले पनि हामी मिलाइहाल्छौँ  भन्नुभयो । 

मेयर साबको फेसबुकमा उपलब्ध नम्बरमा मेसेज गरेँ । उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो–असुविधाको लागि  माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । 

तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुनाबाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालीन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् ।

म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसायमार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिँदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो ।

त्यसकारण मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारीज्यू, जनप्रतिनिधि र सुशासनको ठूला ठूला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री– मेरो यो कुरा सुनेर लाज त लाग्यो होला ।
त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ