arrow

ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
chandra-dhakal-global-ime-chairperson-renew.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

शपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आईएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति–निर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आईएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गर्दै ग्लोबल आईएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभइ एक सबल र सक्षम बैंक बन्न सफल भएको बताए । 

ग्लोबल आईएमई बैंकलाई अहिलेको अवस्थासम्म पुर्याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पुर्याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए । 

ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आईएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरुलाई आजै शपथ गराएका छन् । 

ग्लोबल आईएमई बैंकको १७ औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका छन् । 

शपथ ग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगान तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु, ग्लोबल आईएमई बैंकको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरुकोसमेत उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ