arrow

प्रचण्ड मन्त्रीहरुको नयाँ सेट ल्याउन आतुर, माओवादीभित्र बहस, कांग्रेस र एसमा मौनता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहँदा आफ्नै दलबाट क–कसलाई मन्त्री बलाउन भन्ने माओवादीभित्र आन्तरिक बहस शुरु भएको छ । 

माओवादीबाट सरकारमा सहभागी चार मन्त्रीमध्ये कसलाई बाहिर लैजाने र कसलाई मन्त्रीमा ल्याउने भन्ने बारेमा आन्तरिक लबिङ र बहस शुरु भएको हो । यद्यपि यसलाई केही पदाधिकारी तहमा मात्रै छलफलको एजेण्डा बनाइएको छ । 

प्रधानमन्त्री राष्ट्रिय सभा निर्वाचनअगावै मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजे पनि प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले निर्वाचनपछि मात्रै फेरबदल गर्न भनेपछि केही समय रोकिएका प्रचण्डले वर्षमान पुनलाई गृहमन्त्री बनाएर लैजाने र हरिबोल गजुरेललाई पनि यसपटक जिम्मेवार मन्त्री बनाउने तथा राष्ट्रिय सभामा लैजाने गृहकार्य शुरु भएको छ । 

यद्यपि हरिबोल गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा दिएपछि आफू राष्ट्रिय सभामा नजाने तथा मन्त्री पनि नखाने बताउँदै आएका छन् । 

यसपटक अर्का नेता देवेन्द्र पौडेल र महासचिव देवप्रसाद गुरुङलाई पनि सरकारमा लैजाने गरी छलफल थालिएको छ । तर उनीहरु यो विषयमा खुल्न चाहँदैनन् । 

अहिले माओवादीबाट एक राज्यसहित चार मन्त्री सरकारमा छन् । नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयको जिम्मेवारीमा छन् । शक्तिबहादुर बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार र सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छन् ।

प्रधानमन्त्री प्रचण्ड ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको रिपोर्ट कार्डसँग भने त्यति सन्तुष्ट छैनन् तर पनि उनलाई तत्कालै हटाइहाल्न पनि मन गरेका छैनन् । 

गृह मन्त्रालयको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतमा अनुसन्धानको काम थालनी गरेका थिए । 

ती कामहरूमा गृहमन्त्री श्रेष्ठको ‘स्पिड’ थेग्न प्रधानमन्त्री प्रचण्डलाई समेत गाह्रो भएकाले उनको मन्त्रालय परिवर्तन गर्ने गरी छलफल थालेको स्रोतले जनाएको छ । 

पर्यटनमन्त्री किरातीको रिपोर्ट कार्डसँग त झन् प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट नै छन् । उनले क्रिश्चियन धर्मालम्बीहरुको कार्यक्रममा पुगेर प्रधानमन्त्री प्रचण्डलाई समेत मुछेर हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएपछि प्रचण्ड असन्तुष्ट रहेका हुन् । 

साथै मन्त्रालय अन्तर्गतका नियुक्ति लगायतको विषयमा पनि प्रधानमन्त्री मुछिएकाले असन्तुष्ट रहेका प्रधानमन्त्रीले किराँतीको विकल्प खोजिरहेको माओवादी नेताहरुले बताएका छन् ।  

प्र्रधानमन्त्री प्रचण्डले पूर्णरूपमा सरकार पुनर्गठन गर्ने चाहना देखाएका छन् । गठबन्धनको बैठकमा उनले केही मन्त्रीलाई राखेर केहीलाई मात्रै हटाउँदा तिक्तता रहने र चाहेअनुसार काम गर्न नसकिने बताउँदै सबैलाई परिवर्तन गर्न खोजेका थिए । 

त्यहीअनुसार प्रधानमन्त्री प्रचण्डले पूर्ण पुनर्गठन गर्न चाहेका हुन् । उता नेकपा एसले पनि आफ्ना सांसद सबैलाई मन्त्री पद पुर्याउने गरी सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । 

एसबाट उपाध्यक्ष राजेन्द्र पाण्डे मन्त्रीमा जाने स्रोतले जनाएको छ । उनीसँगै गरिमा शाह, भानुभक्त जोशीले मन्त्रीमा दावी गरिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ