arrow

नेकपा एस सरकारबाटै सशंकित, विभिन्न देशसँग भएका सहमतिका कागजात माग्ने निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी भएको नेकपा एकीकृत समाजवादी आफैँ सहभागी सरकारसँग सशंकित देखिएको छ । आफ्नो पार्टीको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरुलाई विश्वास नगरी भारतीय विदेशमन्त्री डा. एस जयशंकर पुस १९ गते नेपाल आउँदा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजनामा लगानी गर्न पाउने, १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने, नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्ने र जाजरकोट भूकम्पपछि पुनर्निर्माणका लागि भारतले १० अर्ब रुपैयाँ अनुदान दिनेलगायत सहमति–सम्झौता भएको विषयमा सरकारसँग संशकित देखिएको हो ।

 ‘सरकारले विभिन्न समयमा भारतसँग के के सम्झौता गरेको छ भन्ने बारेमा हाम्रा मन्त्रीहरुले हेक्का राखेका छैनन्, पार्टीले यो विषयलाई गम्भीर रुपमा लिनुपर्छ’, पार्टीको सचिवालय बैठकमा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भनेका थिए । 

नेता खनालले सबै कागजातहरु मागेर हेर्नुपर्ने भनेपछि सोमबार बसेको बैठकले विगतमा भएका सम्झौताबारे सरकारसँग जानकारी लिने भनेको हो । 

भारत लगायतका देशहरूसँग भएका सम्झौताको विषय संवेदनशील ढंगले उठिरहेकाले ‘डकुमेन्ट’ मागेर निष्कर्ष निकाल्नु पार्टीले आफ्नो कर्तव्य सम्झेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

 ‘नेपाल र भारतको बीचमा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा दुई विदेशमन्त्री बीचमा भएका केही सम्झौता र सहमतिहरू छन्, जुन अहिले बजारमा चर्चाको विषय बनेको छ । यो र यस्तै प्रकारका धेरै सहमतिहरू नेपाल सरकारले विभिन्न देशहरूसँग गरेको छ, सचिवालय बैठकपछि खतिवडाले भने, ‘के कस्ता सहमतिहरू गरिएको छ, त्यो सार्वजनिक गर्न माग गर्दै हाम्रो सातौँ केन्द्रीय समितिको बैठकले एउटा प्रस्ताव पनि पारित गरेको थियो ।

केन्द्रीय समितिले गरेको निर्णयका आधारमै जयशंकर आउँदा भएका सहमतिका ‘डकुमेन्ट’ (कागजात) पनि माग्न लागिएको उनले बताए । 

त्यसैको आलोकमा र अहिले विकसित घटनाक्रमका सन्दर्भलाई सँगै जोडेर पार्टीले यस बारेमा विभिन्न देशसँग भएका नेपालको प्राकृतिक स्रोत, साधन, उर्जा, जलस्रोतको विषयमा गरिएका सम्झौताहरूको डकुमेन्ट नेपाल सरकारसँग माग्ने र पार्टीले अध्ययन गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको छौँ,’ खतिवडाले भने ।

जयशंकर आउँदा भएका सहमतिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक स्पष्ट पारिसकेका छन् । त्यतिमात्र होइन संसदीय समितिमासमेत पुगेर प्रधानमन्त्रीले जानकारी गराइसकेका छन् । 

तर नेकपा एसका सम्मानित नेता खनाल भने पहिलेदेखि यो सरकारसँग सन्तुष्ट छैनन् । उनकै पार्टी सरकारमा भए पनि उनी अध्यक्ष माधवकुमार नेपालतर्फ भन्दा पनि नेकपा एमालेतिर नजिक भएको नेताहरुले बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ