arrow

ल्हारक्यालले गुहारे चिनियाँ पक्षलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
Lyarkal lama.jpg

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले चिनियाँ पक्षलाई गुहारेका छन्। 

नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग उपाध्यक्ष डा लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सहकार्यका लागि चिनियाँ पक्षसँग आग्रह पनि गरेका हुन् । 

बुद्ध जन्मस्थल लुम्बिनीस्थित चिनियाँ विहारमा दुवैबीच भेटवार्ता भएको थियो । लामाकोको आग्रहमा राजदूत सोङले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

सो अवसरमा जापानीज वास्तुविद् केञ्जे टाङ्गेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवर्द्धनका सहकार्यका विषयमा पनि छलफल भएको कोषका उपाध्यक्ष डा लामाले बताए ।

चिनियाँ राजदूत सोङले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको जानकारी गराएका थिए । 

लुम्बिनीको गुरुयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरुयोजना बनाउने योजनामा रहेको समेत उनको भनाइ थियो ।

भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको पनि उपस्थिति थियो ।

यसैबीच चिनियाँ नयाँ वर्षको अवसरमा बिहीबारै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । त्यस अवसरमा उपाध्यक्ष डा लामाले हजारौँ चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आफूहरू आतुर रहेको बताए । 

राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै उपाध्यक्ष लामाले भने, “प्रत्येक महिना हजारौँ चिनियाँलाई लुम्बिनीमा स्वागत गर्न पाउने दिनको पखाईमा छौँ ।” उनले बिहीबारकै दिन सुजाताले भगवान् बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यही दिन खिर बाँड्न पाएकोमा खुशी व्यक्त गरे ।

चिनियाँ राजदूत सोङले एक हजार पाँच सय वर्षअघि चिनियाँ यात्रीले गरेको पैदल यात्रा र त्यही यात्रा वृतान्तले लुम्बिनी पत्ता लगाउन सहयोग गरेको स्मरण गर्दै बुद्ध जन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरणमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए । 

उनले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ