arrow

२३ औँ सशस्त्र प्रहरी दिवस

प्रविधिमैत्री सेवा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल चनाखो हुनुपर्छ: प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
pm-prachanda-apf.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । २३ औँ सशस्त्र प्रहरी दिवसको अवसर पारेर मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सशस्त्र प्रहरी बलमा आबद्ध अधिकृत र जवानहरूका वृद्धि विकास र उनीहरूका लागि आवश्यक सामानहरूको उपलब्ध गराउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् । 

प्रधानमन्त्री दाहालले प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनाखो रहन पनि सशस्त्र प्रहरी बललाई निर्देशन दिए । उनले सूचना प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसको परिचालन राष्ट्रिय हित अनुकूल गर्न पनि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरूलाई सचेत गराए । प्रधानमन्त्री दाहालले सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले बलले खेलेको भूमिकाको प्रशंसा गर्दै सो सम्बन्धी तय गरिएको कार्यक्रमलाई सरकारले दृढताका साथ अघि बढाउने बताए ।

उनले भने,‘विश्वव्यापीकरण तथा सूचना प्रविधिमा आएको बहुआयामिक विकासले एकातिर हामीलाई अवसरका अनगिन्ती ढोकाहरू खोलिदिएको छ भने त्यसले मुलुकको समृद्धिका लागि महत्त्वपूर्ण आधारशिला पनि तयार भएको छ । अर्कोतर्फ सूचना प्रविधिको विकाससँगै नयाँ नयाँ अपराध र सुरक्षा चुनौतीसमेत थपिएका छन् । तसर्थ, सशस्त्र प्रहरी बलले एकातिर प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई यसलाई राष्ट्रिय हित अनुकूल परिचालन र प्रयोगमा ल्याउन दक्ष हुनपर्दछ । अर्कोतर्फ बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका निम्ति समेत उत्तिकै दक्ष र चनाखो हुन जरुरी छ । सीमा सुरक्षा र व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको जुन कार्यक्रम अगाडि सारेको छ । त्यसले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुग्ने मैले विश्वास लिएको छु । तसर्थ, यस सङ्गठनले प्रस्ताव गरेको सीमा विकास कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको जानकारी पनि म गराउन चाहन्छु । देशको सुरक्षा र स्वाभिमानका निम्ति दिगो ज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतको वृद्धि विकास तथा उनीहरूको प्रोत्साहनमा कयौँ समस्याहरू विद्यमान छन् । मुलत दरबन्दीको सीमितताका कारण सेवा प्रवेशको लामो अवधिसम्म पनि पदोन्नति नहुने समस्याका कारण तपाईँहरूले आफ्नो भविष्यप्रति व्यक्त गर्नुभएको चिन्ताबारे मलाई जानकारी छ । र म त्यसमा सचेत पनि छु । मैले सरकारको नेतृत्व गरेपश्चात् सकल दर्ताका करिब ६ हजार अधिकृत र जवानहरूको पदोन्नतिको प्रक्रिया सम्पन्न गरिएको छ । साथै बललाई विगतमा दिइएका जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारी समेत प्रदान गरिएको छ । यसबाट मलाई राहत त महसुस भएको छ । तर सङ्गठन र तपाईँहरूको आवश्यकताको दृष्टिले यो पर्याप्त छैन भन्ने कुरा पनि मलाई जानकारी छ । आगामी दिनमा यसबारे छलफल गरी आवश्यक र सम्भव सहजीकरण गर्न नेपाल सरकार दृढ रहेको विश्वास पनि म यस अवसरमा दिलाउन चाहन्छु । साथै सङ्गठनमा आबद्ध अधिकृत र जवानहरूको वृद्धि विकास, सेवा सुविधा, सुरक्षा, हात, हतियार र अन्य लजिष्टिक सामानहरूको उपलब्धता सरकारको उच्च प्राथमिकतामा रहने विश्वास पनि म व्यक्त गर्दछु । ’

प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी बलले मुलुकको समृद्धिको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ