- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने भएको छ ।
बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्का लगायतका गृहकार्यपछि शुक्रबार उक्त औद्योगिक ग्रामको शिलान्यास भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् ।
उक्त अवसरमा बोल्दै मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमूना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफूले पहल गर्ने पनि मन्त्री रिजालले बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै विशेष अतिथी सांसद चौधरीले आफूले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिबद्धताहरूलाई एक एक गरी पूरा गर्ने शिलशिलामा नमूना औद्योगिक ग्राम सोही प्रतिबद्धता कार्यान्वयनको अर्को महत्वपूर्ण चरण भएको बताए ।
‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहन्छु । तर, यहाँ त्यही भइरहेको छ । म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु तर हाम्रा कतिपय मित्रहरू मैले गरेका कामहरूलाई विकास हैन राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, सक्नुहुन्छ भने तपाईँहरु पनि यस्तै विकासको राजनीति गर्नुस् । आर्थिक विकासको अध्यायलाई अगाडि बढाउने काममा जोडिनुस् । चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए । एसएमई भिलेज उद्यमशिलताको नमूना बन्ने र नवलपरासीका युवाहरूलाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहनेछ भन्ने मेरो विश्वास छ’, सांसद चौधरीले भने ।
‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोंच राख्ने युवाहरुका लागि एकीकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ । यसले यहाँका युवाहरूका नयाँ सोच, नवप्रवर्तनका कार्यक्रमहरूलाई अर्को तहमा पुर्याउनेछ भन्ने मेरो विश्वास छ’, सांसद चौधरीले भने, ‘हामीले युवाहरूका लागि युवा उद्यमशिलता तालिम अगाडि बढाइरहेका छौँ । र उनीहरुका लागि बिउ पूँजीको व्यवस्था गर्न पनि आवश्यक पहल लिनेछौँ ।’
यस परियोजनालाई सम्पन्न गर्न आफू र आफ्नो टिमले निरन्तर सहयोग र अनुगमन गर्ने पनि उनले जानकारी दिए । ‘उद्योग ग्राम खोलेर मात्रै हुँदैन जीवन्त बनाउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । विशेष औद्योगिक क्षेत्र (सेज) र अन्य ग्रामजस्तो यस ग्रामलाई उद्योगविहीन हुने अवस्था आउन दिइने छैन’ सांसद चौधरीले जोड दिए ।
चालु आर्थिक वर्षमा उक्त ग्रामका लागि बजेट विनियोजनसँगै स्थानीय तहमा तयारीसमेत अगाडि बढेपछि नवलपरासीका लागि यो महत्वपूर्ण परियोजनाका रुपमा अगाडि बढेको छ ।
सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । आफू निर्वाचित भएको एक वर्षमै उनले उक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याएका छन् ।
नमूना औद्योगिक ग्राम नवलपरासी जिल्लाकै एकीकृत सुविधा उपलब्ध हुने नमूना औद्योगिक ग्रामका रुपमा स्थापना गर्न लागिएको छ ।
यस ग्राममा स्थानीय युवाका श्रृजनशील उद्यमशीलता र स्थानीय कच्चा पदार्थमा आधारित सीपलाई उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग (एसएमई) भिलेजका रुपमा पनि चिनिनेछ ।
बर्दघाट नगरपालिका वडा नं ५, खजुरा खोला क्षेत्रमा करिब १८ बिगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हुँदैछ । यस परियोजनाका लागि १७ करोड रूपैयाँ खर्च हुने अनुमान छ । यो परियोजना बहुवर्षीय परियोजनाका रुपमा आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सांसद चौधरीको विशेष पहलमा चालु आर्थिक वर्षका लागि ४ करोड रूपैयाँ यस परियोजनाका लागि निकासा भई टेण्डर भइसकेको छ ।
रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभिले निर्माणको जिम्मा पाएको छ । यस वर्ष पूर्वाधारका कामहरू सम्पन्न गरिने छन् । कार्य प्रगति राम्रो रहेमा यसै आर्थिक वर्षभित्र थप बजेट निकासा भई थप काम गर्न सक्ने अवस्था छ ।
यस परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन परियोजनालाई कुनै आर्थिक भार नपर्ने गरी चौधरी फाउण्डेसनका इन्जिनियरहरूले प्रत्यक्ष रुपमा सहयोग गर्नेछन् ।
तीन वर्षभित्र नमूना औद्योगिक ग्राम तयार गरी नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने सांसद चौधरीको लक्ष्यअनुसार उनको सचिवालयका अधिकारीहरूले पनि परियोजनाको निरन्तर अनुगमन गर्नेछन् ।
प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधक रवीन्द्र शाहले जानकारी दिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले नगरपालिकामा नमूना औद्योगिक ग्राम बन्नु अत्यन्तै सुखद रहेको बताए ।