arrow

शहीद सप्ताहः माथेमाको सम्झना

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
dharmabhakta-mathema-2080-1.jpg

काठमाडौँ । शहीद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौँको सिफल उकालोमा शनिबार स्मृतिसभा गरी उनलाई सम्झना गरिएको छ ।  

शहीद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा गरिएको हो । कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।   

शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाकी उपप्रमुख सुनिता डङ्गोलले सुखसयल त्यागेर नागरिक स्वतन्त्रताका लागि  प्राण उत्सर्ग गरेको बताइन् । 

शहीद माथेमाको सम्मानमा कामपाले वडा नं २३ ओमबहालमा पार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानवसेवा आश्रम उनकै नामबाट बनाउने योजनामा रहेको डङ्गोलले जानकारी दिइन् ।  

सभामा वडा नं ७ का अध्यक्ष विमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने बताए । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विद्यालयस्तरमा सशहीदका बारेमा बुझाउन सक्नुपर्ने बताए । 

विसं १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहाल, नबहिलमा जन्मिएका माथेमालाई तत्कालीन शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो ।

उनलाई १९९७ माघ १३ गते काठमाडौँको सिफलमा ३१ वर्षको उमेरमा  बकाइनोको रुखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । 

निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथचन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदन्ड दिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ