arrow

सोमबारदेखि संसद्‌को हिउँदे अधिवेशन, शीर्ष तीन दलको यस्तो छ तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
samsad-sava-parliament.jpg

काठमाडौँ। संघीय संसद्‌को दुवै सदनको हिउँदे अधिवेशन सोमवारदेखि शुरु हुदैछ । संसद्‌को हिउँदे अधिवेशन शुरु हुने पूर्वसन्ध्यामा दलहरुले आ-आफ्नो तयारी पनि गरिरहेका छन् । कतिपय दलहरुले यस बीचमा संसद्‌ीय दलको बैठक सम्पन्न गरिसके भने केहीको संसद्‌ीय दल बैठक चलिरहेको छ । दलहरुले संसद्‌को यस अधिवेशनमा गर्ने कामहरु, दलको तर्फबाट प्रश्तुत गर्ने विषयहरु तथा सांसदहरुले राख्ने विषयहरुको सम्बन्धमा आ-आफ्नो तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद्‌ अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रश्तुत हुने तयारी गरेको छ । देशमा भ्रष्टाचार बढेको र जनतामा निराशा बढेको एमालेको ठम्याइ छ । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो । 

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरुले पहिलो मुद्दा बनाउने बताए । उनले देशको विकास, सुशासन र समृद्धिको सवालमा एमालेले निरन्तर रुपमा सशक्त ढंगले आवाज उठाउने बताए । उनले अहिले देशको राष्ट्रिय स्वाधिनता इतिहासमा सबभन्दा कमजोर स्थितिमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको विषयलाई पनि प्रमुख एजेण्डा बनाउने बताए । धेरै भन्दा धेरै ऐन, कानूनहरु निर्माण गर्न संसद्‌लाई केन्द्रित गराउने पनि उनको भनाई छ ।

उनले भने - ‘धेरै भन्दा धेरै ऐन, कानूनहरु निर्माण गर्न संसद्‌लाई केन्द्रित गर्नुपर्नेछ । त्यसका लागि हाम्रो तर्फबाट सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्छौं । मुलुकलाई चाहिने असल नीतिहरु, असल कानूनहरु निर्माण गर्नु हाम्रो प्रमुख दायित्व हो । त्यो दायित्वलाई हामी गम्भिरताका साथ लिएर त्यो काममा हामी केन्द्रित हुन्छौँ । मुलुकमा भ्रष्टाचार व्याप्त छ । जनतामा व्यापक निराशा बढेको छ । आम युवा पुस्ताले नेपालमा आफ्नो भविष्य देख्न छोडिसकेको अवस्था छ । यो सबै सरकारको अकर्मण्यताको कारणले भएको हो । सरकारको असफलताको कारणले, सरकार जनताप्रति जवाफदेही नभएको कारणले, जनताप्रति उत्तरदायी नभएको कारणले यि समस्याहरु आएका हुन् । त्यसकारण यो विषय पनि अब सदनभित्र एकदम सघन ढंगले उठाउँछौँ । सुशासनको मुद्दा अब हाम्रो पहिलो मुद्दा हुन्छ । सशक्त र निरन्तर रुपमा हामीले सुशासनको मुद्दा उठाउँछौँ । समृद्धिको मुद्दालाई पनि सँगसँगै उठाउँछौ । देशको विकास, सुशासन र समृद्धिको सवाल किन सरकारको प्राथमिकतामा पर्न सकेन ? सदनमा यि मुद्दाहरु पनि उठाउँछौँ । अर्को कुरा, देशको राष्ट्रिय स्वाधिनता इतिहासमा सबभन्दा कमजोर स्थितिमा छ । अहिले सरकारले देशको राष्ट्रिय स्वाधिनता, हाम्रो सार्वभौमसत्ता, विकास, सुशासन र समृद्धिका मुद्दाहरुमा सरकार जुनखालको अवस्थामा उभिएको छ, जस्तो सरकारको अकर्मण्यता छ, यो विषय अबको सदनको पहिलो विषय बन्छ । प्रमुख एजेण्डाका साथ हामी प्रश्तुत हुन्छौँ ।’

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसद्‌ले कानून बनाउने काम पाउनुपर्नेमा आफूहरु सचेत रहेको बताए । उनले विगतमा सरकारले संसद्‌लाई भुमिका बिहिन बनाएको भन्दै आगामी दिनमा पनि त्यसो गरिए सशक्त प्रतिवाद गरिने चेतावनी पनि दिए । सरकारले संविधान र कानून विपरित गरेका गतिविधिहरुको संसद्‌मार्फत भण्डाफोर गरिने पनि उनले बताए । उनले पनि देशको स्वाधिनता, सार्वभौमसत्ता र स्वाभिमान माथि नै प्रश्न उठ्नेगरी विदेशीहरुले नेपालको मञ्च प्रयोग गरिरहेको भन्दै यसमा पनि संसद्‌बाट खबरदारी गरिने बताए ।

उनले भने - ‘विशेषगरी आगामी संसद्‌ प्रभावकारी बन्नुपर्छ । संसद्‌ले काम पाउनुपर्छ । सरकारले संसद्‌लाई भुमिका बिहिन बनाउने, काम नदिने जुनखालको रवैया हामीले यो बिचमा देख्यौँ । आगामी दिनमा पनि यही खालको निरन्तरतामा यदि लान खोज्यो भने त्यसको हामी सशक्त प्रतिवाद गर्छौं । संसद्‌ले कानुन निर्माण गर्नुपर्छ । कानून निर्माणको काम सांसदहरुले पाउनुपर्छ । यसमा मुख्यतया हामीले ध्यान दिनेछौँ । दबाब र खबरदारी गर्नेछौँ । आज स्वाधिनता र सार्वभौमसत्ता, स्वाभिमान माथि नै कयौँ प्रश्नहरु सिर्जना गर्नेगरी विदेशीहरुले आफ्ना स्वार्थ पूरा गर्न नेपालको मञ्च प्रयोग गरेको कुरा सत्य हो । यो पाटोमा गम्भिरताका साथ सदनमा हामीले खबरदारी गर्नेछौँ । कानून र संविधान विपरित सरकारका समग्र गतिविधिको संसद्‌मार्फत सशक्त आवाज उठाउँछौ । भण्डाफोर गर्नेछौँ ।’

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताए । उनले आगामी विधेयकहरु पनि महत्वको आधारमा ल्याउने बताए । सरकारले कति विधेयकहरु ल्याउन सक्छ, त्यसमा पनि पार्टीभित्र लेखाजोखा हुने उनले बताए ।

उनले भने - ‘कति विधेयक सरकारले ल्याउन सक्छ, त्यसमा हामी लेखाजोखा गर्छौं । त्यसमा पनि महत्वपूर्ण टिआरसी विधेयक छ । मनी लाउण्डरिङ विधेयक छ । सुरक्षण मुद्रण सम्बन्धी विधेयक पनि आउँदैछ । त्यसमध्ये पनि अहिले देखिएको टिआरसी विधेयक र मनी लाउण्डरिङ विधेयकलाई विशेष केन्द्रबिन्दुमा राखेको पनि छ । अब आउने विधेयकहरु कुन-कुन महत्वपूर्ण हो त्यसमा विशेष छलफल पछि गर्नेछौँ ।’

नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी अधिवेशनमा कानून निर्माणको कामलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित धेरै ऐन, कानूनहरु अझै नबनेका भन्दै ति कानूनहरु बनाउन ध्यान पु¥याइने बताउन ुभयो ।

उनले भने - ‘अबको संसद्‌को मुख्य भुमिका भनेको कानून निर्माणको कामलाई विशेष प्राथमिकताको सूचीमा राख्नुपर्ने हुन्छ । हामीले अघिल्लो संसद्‌मा जतिपनि कानूनहरु पारित गर्नुपथ्र्यो त्यो गर्न सकेनौँ । त्यसका लागि हामी क्षमाप्रार्थि पनि छाँैँ । कतिपय विधेयकहरु समितिमा छलफलका क्रममा छन् । ति कानूनहरु यथाशिघ्र हामीले संसद्‌बाट पारित गर्नुपर्छ । सरकारका अति आवश्यक पर्ने कानूनहरु जो निर्माण गर्नुपर्ने छन्, संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित कतिपय ऐन, कानूनहरु अहिले पनि बनेका छैनन् । अहिले हामीले यो अधिवेशनलाई विशेषगरी कानून निर्माणको काममा नै बढी समय खर्चिनुपर्छ भन्ने मलाई लाग्छ ।’

सत्तारुढ नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताए । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गरिने बताए । आगामी अधिवेशनमा सक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक, विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसँग सम्बन्धित विधेयकलाई गतिका साथ अगाडी बढाइने बताए । आगामी आर्थिक वर्षका लागि बजेटलाई नयाँ तरिकाले लैजानका लागि पनि छलफल केन्द्रित गर्ने उनको भनाई छ ।

उनले भने - ‘यो अधिवेशनलाई व्यवस्थित र विधेयक केन्द्रीत बनाउने गरेर सोचिरहेका छौँ । कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गर्नेबारे हामी सोचिरहेका छौँ । असाध्यै महत्वपूर्ण विधेयकहरु छन् । त्यसमध्ये टिआरसी सम्बन्धी विधेयक छ, विद्यालय शिक्षा सम्बन्धी विधेयक, संघीयता कार्यान्वयनसँग सम्बन्धित निजामती कर्मचारी सम्बन्धी विधेयकहरुकाबारे अलि गतिका साथ अगाडी बढाउनुपर्ने भनेर सोचेका छौँ । बजेटलाई नयाँ तरिकाले लैजाने भन्ने बारेमा पनि छलफललाई केन्द्रित गर्नेछौँ भने जनताका समस्याहरुलाई सदनमा उठाउनुका साथसाथै सरकारको काम जुन सकारात्मक रुपमा अगाडी बढिरहेका छन्, तिनका बारे पनि चर्चा गर्ने । मन्त्रीहरुलाई सरकारका काम बारे सदनमा आएर जानकारी गराउने सोचिरहेका छौँ ।’

संसद्‌मा जनताका समस्याहरुलाई उठाउने र सरकारले गरेका सकारात्मक कामहरुको चर्चा गर्ने पनि उनले बताए । त्यस्तै, मन्त्रीहरुलाई सरकारको कामका बारेमा संसद्‌मा आएर जानकारी दिन लगाउने पनि उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ