arrow

बिहेको एकदिन अघि अर्नाको आक्रमणमा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
koshi-tappu.jpg

इनरुवा। सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए । 

मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो । 

सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम शुरु भइसकेको थियो । 

छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो । 

गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए । तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ । 
 
गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात भएको हो । 

रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ । गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएको छ । 

घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो । 

सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए ।

घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो । 

बिहेको एकदिनमात्र अघि भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो । 

पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ । 

आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ