arrow

नेपाल जीवनस्तर सर्वेक्षण

नेपालमा अझै पनि २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि [भिडियो]

सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
population-index-2024.jpg

काठमाडौँ । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौँमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९-०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो । 

करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए । उनकाअनुसार मानिसहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरू अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ । प्रदेशगत रूपमा भने सबै भन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि कार्यालयका प्रवक्ता रेग्मीले बताए । 

सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिब ३४ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेका छन् ।

कार्यालयका प्रवक्ता रेग्मीले भने, ‘नेपालमा तय गरिएको गरिबीको नयाँ रेखा भनेको २०.२७ प्रतिशत हो । आजको मेरो प्रस्तुतिको सारांश यही हो । आज पनि नेपालमा करिब २० प्रतिशत भन्दा बढी मानिसहरू न्यूनतम मापदण्डअनुसार खान नपाउने, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने अथवा शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको मान्छेहरूको प्रतिशत अहिले पनि करिब २० प्रतिशत छ भनेर यो पछिल्लो सर्वेक्षणले देखाएको छ । प्रदेशगत रूपमा फेरी गरिबीको रेखा त्यहाँ भित्र पनि विभेद छ भन्ने देखिन्छ । सबैभन्दा कम गरिबी गण्डकी प्रदेशमा देखिएको छ । बागमती सँगसँगै छ । त्यसपछि कोशी प्रदेशमा छ । सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा देखिएको छ । यो सात वटा प्रदेशको हामीले तुलना ग¥यौं भने लुम्बिनी र कर्णाली पनि पछाडि पछाडि छन् । मधेस र लुम्बिनीको उस्तै उस्तै छ । कर्णालीमा सुधार भएको देखिएको छ पछिल्लो प्रतिवेदनअनुसार । सुदूरपश्चिममा अहिले पनि करिब ३४ प्रतिशत गरिबी छ ।’

सर्वेक्षणमा कणाली प्रदेशमा भने गरिबीको सङ्ख्यामा सुधार हुँदै गएको देखाइएको पनि राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ