arrow

वल्ड गभर्मेन्टस् समिटमा अध्यक्ष ढकालको आह्वान : जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
chandraprasad-dhakal-2080-1.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । 

यूएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन विश्वभरका लगानीकर्ताहरुलाई आह्वान गरेका हुन् । 

उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए । 

“नेपाल सरकारले यही अप्रिल २८–२९ मा आयोजना गर्न लागेको नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ । साथै विभिन्न सम्भावित साझेदार मुलुकहरुसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ । यसले दुई देशबीच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ,” उनले भने ।

अध्यक्ष ढकालले यसको सदुपयोग गर्न लगानी सम्मेलन २०२४ मा सहभागी हुन र यसको फाइदा लिनसमेत आग्रह गरे । शेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ । 

शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ