arrow

टेस्लाको जीवनीपरक उपन्यास बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
nikola-tesla-book.jpg

काठमाडौँ । एक आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत् अभियन्ता निकोला टेस्लाको रहस्यमय जीवनमा आधारित उपन्यास ‘निकोला टेस्ला’ वी रिडले हालै प्रकाशनमा ल्याएको छ । भ्लादिमिर पिस्तालोले लेखेको उपन्यासको नेपाली अनुवाद विमलकुमार सुवेदीले गरेका हुन् ।

आधुनिक अल्टरनेटिङ करेन्ट (एसी) प्रणालीमा टेस्लाको महत्वपूर्ण योगदान छ । उनको जन्म सन् १८५६ मा अस्ट्रियामा भएको थियो । उनको परिवार सर्बियाका नागरिक भए पनि स्मिलजनस्थित उनको गाउँ हाल क्रोएसियामा पर्छ । 

उनी सन् १८८४ मा आविष्कारक थोमस अल्वा एडिसनसँग काम गर्न अमेरिका पुगेका थिए । विद्युत् प्रसारणका लागि ‘अल्टरनेटिङ करेन्ट’ (एसी) वा ‘डाइरेक्ट करेन्ट’ (डीसी) कुन प्रणाली स्थापित गर्ने भन्ने विषयमा अमेरिकी इन्जिनियर तथा व्यवसायी जर्ज वेस्टिङहाउस र एडिसनबीच प्रतिस्पर्धा थियो । 

जबकि एडिसनको कम्पनीले डीसीमा लगानी गरिरहेको थियो । यो छोटो दूरीमा निश्चित भोल्टेजमा एउटा दिशामा मात्रै प्रवाहित हुने विद्युतीय प्रणाली हो । एडिसनले डीसीलाई नै जोड दिएपछि टेस्ला उनीबाट अलग्गिए । 

पछि वेस्टिङहाउसले टेस्लाको एसी ट्रान्सफर्मर र मोटरको सर्वाधिकार किने । टेस्लाले आविष्कार गरेको प्रणाली अझै पनि विद्युतीय ऊर्जाको उत्पादन, प्रसारणको क्षेत्रमा अग्रणी विधि मानिन्छ । 

टेस्लाको जीवनी आफैँमा रोमाञ्चक उपन्यासजस्तै छ । उनी सर्वसाधारण मानिसले कल्पना गर्नसम्म नसक्ने कुरा सम्भव गराउन सक्थे । उनको शरीर नै मानिसका लागि विचित्रको थियो, जहाँ उनी लाखौँ भोल्टको विद्युत् शक्तिको प्रवाह गराउन सक्थे । 

एक कट्टर धार्मिक पूजारीको सन्तान भएर पनि पिताको पथमा नगई उनले विज्ञानको अन्वेषण र अनुसन्धानको बाटो रोजे । आमाको निधनले टेस्लाको जीवनमा निकै हलचल मच्चायो । टेस्लालाई सबैभन्दा दुःखान्त पीडा सहोदर दाजु गुमाउनुमा भयो, उनले यो घटनालाई जीवनभर भुल्न सकेनन् । 

टेस्लाले कहिल्यै विवाह गरेनन् । उनको निधन सन् १९४३ मा न्यूयोर्कस्थित एक होटलको कोठामा भयो । बेलग्रेडमा निकोला टेस्ला संग्रहालय सञ्चालनमा छ, जहाँ अझै बर्सेनि हजारौँ मानिस अवलोकनका लागि पुग्ने गर्छन् ।

यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्ने जोकोहीलाई उत्साह भर्ने खालको छ । कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हन्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो ।

यसका मूल लेखकले पश्चिमी दर्शन, साहित्य र ग्रिक मिथकका प्रसंगहरू उपन्यासमा ल्याएका छन् । त्यसलाई आमपाठकले सजिलै बुझुन् भनेर यस्ता प्रासङ्गिक शब्दको छोटो परिचय प्रकोष्ठमा राखेर अझ सरल बनाइएको छ । 

अनुवादको भाषा सरल र शिष्ट छ । नेपाली पाठकका लागि फरक स्वादको यो जीवनीमा आधारित उपन्यासले आनन्द दिने वी रिडले अपेक्षा राखेको छ । 

जम्मा ५२७ पृष्ठ रहेको यस पुस्तकको मूल्य १०५० रुपैयाँ राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ