arrow

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

सुनसरी ।  सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५-०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादवविरुद्ध रु एक लाख ३० हजार ८४३ भ्रष्टाचार मुद्दा दायर भएको उनले जानकारी दिए । 

तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेबारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ ।

त्यसैगरी,यादव प्रधानाध्यापक पदको जिम्मेबारीमा रहँदा शिक्षक बालेश्वर यादव विसं २०७७ माघदेखि २०७८ कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराई रु ३३ हजार ६१८ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी, वीरेन्द्रप्रसाद यादवले प्रधानाध्यापकको पदमा रहँदा २०७८ मङ्सिरदेखि फागुनसम्मको २२ दिन फर्जी हाजिरी गराएको र मङ्सिरमा गयल रहेको अवधि १० दिनको गरी रु ३२ हजार ३२४ शिक्षक बालेश्वरलाई गैरकानुनी लाभ दिलाइ भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ । 

तत्कालीन प्रधानाध्यापक भोला यादवलाई रु ३३ हजार ६१८ र तत्कालीन प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवविरुद्ध रु ३२ हजार ३२४ बिगो रकम कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कैद तथा जरिवाना हुन माग दाबी लिइ विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ