arrow

‘एसियन हाइवे’ निर्माणका लागि थालियो रुख काट्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
kakarvitta.jpg

झापा। पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान शुरु भएको छ ।

‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण शुरु गरिएको एसियन राजमार्गमा बिहीबारदेखि रुख कटान शुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताए । 

एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा-सितापुरीलाई पूर्वीखण्ड र सितापुरी-मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा-सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख बिहीबारदेखि काट्न थालिएको हो ।

उनले निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिहीबार बिहान धुलाबारीमा पूजापाठ गरी रुख कटान शुरुवात गरेका हुन् । 

रुख कटानसँगै सडक विस्तारको काम शुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए । उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताए ।
 
“काम शुरु गर्न रुख नै बाधक थियो”, उनले भने, “रुख काट्ने अनुमति हिजो आएर कटान शुरु भयो अब द्रुतगतिमा काम हुन्छ ।” उनले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र विजुलीको खम्बा हटाइने बताए ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण शुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब रु. १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का एभ्रासकन कालिका जेभीले लिएकोे छ । 

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् । 

फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ