- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मेरा एक मित्रकी छोरी १६ वर्षकी भइन् । उनको तौल झन्डै सय केजी छ । पहिले माया गरेर छोरीले मागेजस्तो बजारिया र महँगो खाना दिँदा दिँदा छोरीले घरको खाना नै खान छोडेकी हुन् ।
चाउचाउ, कोकाकोला र फ्यान्टा उनको खाना हुन्थ्यो । खाजा पनि बिस्कुट र कुरमुरे आदि हुन्थे । उनमा यस्तो कुराको लत बस्दै गयो । र, उनको तौल अस्वाभाविक रूपमा बढ्दै गयो । अहिले उनी अनेक समस्याबाट पीडित छिन् ।
स्वास्थ्यमा समस्या देखिनुमा हाम्रो हात हुँदैन तर कतिपय स्वास्थ्य समस्याचाहिँ हाम्रै बानी, व्यवहार, भोजन र जीवनशैलीका कारण निम्तिएका हुन्छन् । हाम्रो खानपानमा आएको परिवर्तनले साना बालबालिकादेखि वयस्कसम्म समस्यामा छन् । म भान्छामा गएर सायद स्वादिष्ट खाना त बनाउन सक्दिनँ तर खान हुने स्वास्थ्यकर खानाचाहिँ बनाउन सक्छु ।
प्रत्येक आमाबुबालाई मैले भन्ने गरेकी छु, ‘तपाईँले आफ्नो सन्तानलाई स्वास्थ्यकर खाना खाने बानी लगाइदिनुभयो । स्वास्थ्यकर खाना कसरी बनाउने भनेर व्यावहारिक रूपमा सिकाइदिनुभयो भने यो उनीहरूका लागि एक ठुलो शिक्षा र सम्पत्ति हुनेछ ।’
तपाईँका बालबालिका देश विदेश जहाँ गए पनि आफैँ स्वास्थ्यकर खाना खवाउन सक्नेछन् । यस कारण, उनीहरूको पैसा बचत हुन्छ र शरीर स्वस्थ हुन्छ । उनीहरू काम गर्न सक्छन् ।
कति आमाबुबाले ‘हामी त छोराछोरीलाई भान्छाको काम लगाउँदैनौँ, उनीहरूलाई त चिया पनि राम्रोसँग पकाउन आउँदैन’ भनेर बडो गर्वपूर्वक सुनाउँछन् । यो त गर्व गर्ने विषय होइन, लज्जाको कुरा हो । बाल्यकालदेखि नै भान्छामा सहभागी हुन सन्तानलाई प्रेरणा दिइरहनुपर्छ ।
खाना बनाउनु एउटा कला हो, पाँचतारे होटेलको जस्तो बनाउन सबैले सक्दैनन् र जरुरत पनि छैन । तर, साधारण खाना बनाउन जान्नु निकै राम्रो हो । अहिले वैदेशिक रोजगारमा जानेहरू आफूसँगै चाउचाउ लिएर जान्छन् । दिनभर काम गरेर कोठा फर्किएपछि चाउचाउ उमालेर खान्छन् । अनि, अस्वस्थ हुन्छन् ।
यस्ता विभिन्न कारणले मानिस अस्वस्थ भएकाले पोषणबारे लेख्न जरुरी भएको हो । अहिले कति अभिभावक स्वास्थ्यप्रति सचेत छन् । ‘तपाईँले पोषणहीन खाना दिँदा उनीहरूलाई विषालु माया दिएजस्तै लाग्छ । बालबालिकाले रोएर माग्यो भने तपाईँले चुरोट र रक्सी त दिनुहुन्न नि । जङ्क फुड पनि त्यस्तै हो, लागूपदार्थ जस्तो ।
सरकारी र निजी अस्पतालका क्यान्टिनमा प्याकेट बन्द पत्रु खाना, केक, चिसो पेय पदार्थ धमाधम बेचिन्छन्। मानिसहरू मुटु र मिर्गौला खराब पार्ने तिनै वस्तु धमाधम खाइरहेका हुन्छन्, अस्पतालभित्र चाहिँ परिवारका कुनै सदस्यको मुटु वा मिर्गौलाको उपचार चलिरहेको हुन्छ।
पत्रु खानाको वर्चस्व कस्तो छ भने, यसलाई विशिष्ट र आकर्षक परिकार मान्दै महत्त्वपूर्ण जमघटहरूमा छुटाइँदैन। अरूको के कुरा, विभिन्न मन्त्रालयका बैठकहरूमा खाजा राख्दा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस राख्छन्। त्यस्ता बैठकमा सहभागी हुँदा म त्यस्तो खाजा बहिष्कार गर्छु। तर, सरकारी कर्मचारी, मन्त्रीगण, नेता स्वादको भुलभुलैयामा लागेर आफू र अरूलाई रोगी बनाउन उद्यत छन्। त्यस्तो खानपानकै कारण होला, प्रायः नेपाली नेताहरू नसर्ने रोगबाट पीडित छन्।
समाजका यी ‘ठूलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर ‘पत्रु खाना’ को कुलतमा परेका छन्। यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ। बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ। त्यसैले स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट ‘रोग नलागोस्’ भनेर रोकथामका कार्यक्रममा पनि खर्च गरिनुपर्छ।
शिक्षकले नै केटाकेटीको सामु पसलमा “लौ त साहुजी चाउचाउ छिटो पकाइदिनु”, “साहुनी ‘चिसो’ दिनु त” भनेको कति सुनिएको छ। त्यसैले बालबालिकालाई मोटोपन र कुपोषणबाट बचाउने हो भने शिक्षक, अभिभावक सबै जना सजग हुनुपर्छ, आफ्नो आहार विहार सुधार्दै स्वास्थ्यकर खानाको बानी बसाल्नुपर्छ।
जङ्क खानाका कारण बालबालिकामा बढिरहेको मोटोपनको 'महामारी' विरुद्ध लड्न घरेलु पौष्टिक खानेकुराको प्रवर्द्धन गर्ने, पत्रु खानाको विज्ञापन नियन्त्रण गर्दै लैजाने, स्वास्थ्य क्षेत्रको बजेट रोगको रोकथाममा खर्चने जस्ता सरकारी अग्रसरता आवश्यक छ। (उप्रेती जनस्वास्थ्य विज्ञ हुन्)