arrow

प्रकोप बन्दै पत्रुखाना

logo
अरुणा उप्रेती, 
प्रकाशित २०८० माघ २९ सोमबार
aruna-uprety-patru-khana.jpg

हामी अहिले मोटोपन, मधुमेहको समस्याबारे छलफल गर्छौँ। यो समस्या शहरमा मात्र होइन गाउँमा पनि पुगिसकेको छ। केही वर्षअघि मलाई अमेरिकाको क्यालिफोर्नियाको हिस्पेरियन फाउन्डेसनबाट फोन आयो –हामी महिलाका लागि डाक्टर नभएमा र डाक्टर नभएमा किताबको पुनर्मुद्रण गर्दैछौँ। तर हामीले त्यसमा थुप्रै नयाँ कुरा र विशेषगरी आधुनिक समाजका स्वास्थ्य समस्या राख्नु पर्नेछ । त्योमध्ये एउटाचाहिँ पोषणसम्बन्धी ज्ञान, खाना, भोजन र तयारी खाने कुराले ल्याएका समस्याका बारेमा लेख्दैछौँ। तिमी विभिन्न देशममा गएर देखेका र छलफल गरेका पोषणसम्बन्धी ज्ञान र नेपाल र दक्षिण एसियामा पोषण कस्तो छ, कस्तो समस्या छ, कसरी पोषणसम्बन्धी समस्या समाधान गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर यहाँ आउन सक्छौँ ?

ती दुई ओटा किताब मैले विभिन्न ठाउँमा प्रयोग गरेका हुनाले, त्यसको पुनर्मुद्रणमा सहभागी हुन पाउँदा गौरव अनुभव भयो। त्यहाँ पुगेँ र फाउन्डेसनमा विभिन्न व्यक्तिसँग मिलेर काम शुरु गरेँ। नेपालमा र दक्षिण पूर्वी एसियामा कुपोषणको नसर्ने रोगको समस्या छ भन्नेबारे छलफल गर्दा गरिबी र अज्ञानता प्रमुख कारण देखियो ।

आफूसँग भएको खाद्य वस्तुलाई पनि राम्ररी प्रयोग गर्न नजान्दा कुपोषणको नसर्ने रोगको समस्या पोको छ भन्ने विस्तृत छलफल भयो । त्यस सम्बन्धमा मैले कसरी नेपालमा खाद्य पदार्थहरू, जस्तै– गहुँ, कोदो चामल, फापर, जौँ, अन्न, त्यस्तै लट्टे, पालुङ्गो फर्सी, कर्कलो निगालो आदि हरियो तरकारी र भटमास, चना, अंगुर आदि पर्याप्त मात्रामा पाइन्छन् र यस्ता खानेकुरा प्रोटिन, विभिन्न किसिमका भिटामिन, शक्तिदायक वस्तु पनि पाइन्छन् भनेर छलफल गरेकी थिएँ ।

अमेरिकामा पनि पोषणको समस्या नै रहेछ। हरियो तरकारी, फलफूलको तुलनामा तयारी खानेकुरा सस्तो हुने रहेछ। घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन् । अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ। 

हरियो तरकारी, फलफूल नेपालमा जस्तै कम हुने रहेछ। अर्कोतिर बच्चाको जन्मदिन मनाउँदा पनि आमा बुबाले पिज्जा, केक, आइसक्रिम, बिस्कुट, कोक जस्ता स्वास्थ्यलाई हानि पुर्‍याउने खाना सस्तोमा पाइने भनेर दिँदारहेछन्। नेपालमा पनि अहिले त्यस्तै पत्रुखाना दिने चलन भइसकेको छ। 

यसरी समय छैन, सस्तो पाइन्छ भनेर खानेकुरा किनेर ख्वाउँदा त पछि आफू र बालबालिका पनि बिरामी भएपछि पर्ने मानसिक र शारीरिक समस्या आदिबारे चाहिँ कसैले किन विचार नगरेको होला भनेर सोधेँ ।

‘के गर्ने यो यस्तै छ। अमेरिकाको संस्कृतिमा नै घरमा खानेकुरा पकाउने चलन छैन । स्कुलमा पनि ठाउँठाउँमा कोक र चिसो पेय पदार्थ सजिलोसँग पाइने मेसिन राखिदिएको छ। अनि विद्यार्थीले त्यहीँ पनि प्यास लागे पानीको सट्टा कोक र अन्य चिसो पेय पदार्थ खान्छन् र मोटोपनको शिकार बन्छन् । 

त्यहीँ नै फलफूलको सट्टा बट्टामा राखिएका फलफूलको रस खान्छन्। त्यसमा धेरै चिनी मिसिएको हुन्छ, विभिन्न रसायन पनि मिसिएको हुन्छ । तर बच्चालाई एकछिन प्यास मेटिए जस्तो भए पनि पछि त धेरै नै समस्या पार्छ नि । त्यसैले अहिले कतिपय सामाजिक कार्यकर्ता जनस्वास्थ्यमा चासो राख्ने डाक्टर र पोषणसम्बन्धी अध्ययन गर्ने व्यक्तिहरूले स्कुलमा स्वस्थ्य खानेकुरा, हरियो तरकारी र फलफूल खुवाउनु पर्छ भनी वकालत गरिरहेका छन् । साथै स्कुलबाट कोक र अन्य चिसो पदार्थहरू सजिलो पाइने मेसिनहरू हटाउनुपर्छ भनेर वकालत गरिरहेका छन्।

अमेरिकाका कतिपय स्कुलमा यसबारे छलफल पनि शुरु भएको छ तर व्यावहारिक रूपमा उतार्न चाहिँ निकै गाह्रो परेको छ । त्यहाँ डाक्टर र जनस्वास्थ्य विज्ञले यो बारेमा धेरै लेखेका छन् तर पनि समस्या छ। 

ती किताबहरूमा पोषणसम्बन्धी छलफल गर्ने क्रममा हाम्रो देशमा पाइने विभिन्न हरिया खानेकुरा र तरकारीले कुपोषणको समस्या हटाउन सक्छन् भन्नेबारे मैले केही कुरा स्पष्ट राखेँ ।

नेपालमा देखा परेका समस्यामध्ये भिटामिन ए को कमीले किशोरी र गर्भवती बालबालिकामा हुने समस्या समाधान गर्न हाम्रो स्वास्थ्य मन्त्रालयले भिटामिनको क्याप्सुल बाँड्छ । तर जताततै पाइने कर्कलो, लट्टे–लुँडेको साग, फर्सी, अम्बा जस्ता खानेकुराको प्रयोगमा जोड दिएको छैन । नेपालका केही बाल रोग विज्ञ र मैले आफैँ लेखेका किताबबाट पनि अनुवाद गरेँ । बालबालिकालाई कसरी खानेकुरा घरमै बनाएर अति सस्तोमा ख्वाउन सकिन्छ भन्ने कुरा सरल भाषामा भन्न सकिन्छ र विभिन्न किसिमका बजारमा सिसीमा वा महँगोमा बेचिने ‘बच्चाहरूको खानेकुरा’ को केही महत्व छैन भन्ने कुरा पनि प्रकाशमा ल्याएँ।

त्यसै क्रममा अमेरिकामा पनि घरको खानेकुरा खान र ख्वाउन छाडेर अभिभावक र बच्चाहरू बाहिरका तयारी खानेकुरा, जस्तो– पाउरोटी, तयारी चाउचाउ, प्याकेटका आलु चिप्स, बिस्कुट, विभिन्न चिसो पेय पदार्थ धेरै नै खाने भएकाले त्यहाँका बालबालिकामा चाहिँ मोटाउने समस्या भएर किशोरकिशोरीमा पनि उच्च रक्तचाप, मधुमेहको समस्या देखिएका कुरा जेन म्याक्सवेलले बताइन् । उनी दुई ओटै किताबकी पनि सम्पादक हुन् । 

उनको कुरा सुनेर मलाई लागेको थियो, अमेरिकामा शिक्षित भएर पनि पत्रुखाना नै खाने रहेछन् । खानेकुराको विज्ञापनहरूले गर्दा मानिस त्यसैको भरमा परेर विभिन्न खानेकुरा किन्ने र घरमा बनाउन अल्छी मान्ने गर्छन् ।

त्यसले बाहिरका सस्तो चिप्लो पदार्थ धेरै भएको म्याम डोवाल, पाउरोटी र मासु धेरै खान्छन्। त्यसैले बच्चा, वयस्कमध्ये ३३ प्रतिशतमा मोटोपनको समस्या भएको बताइन् । वास्तवमा नै म अमेरिकामा बाटोमा हिँड्दा स्पष्टरूपमा १४–१५ वर्षका किशोर–किशोरी र वयस्कहरू पनि मोटोपनको कारणले हिँड्दा पनि गाह्रो भएको समस्या धेरै देखियो। मैले त्यो बेला विचार गरेकी थिएँ, अमेरिकाको यो समस्या केही वर्षपछि नेपालमा पनि आउनेछ ।

अनि मनमनै आफैँ विचार गरेँ–नेपालमा पनि पोषणको समस्यालाई राष्ट्रिय समस्याका रूपमा मानिएको छैन। तर अमेरिका जस्तै पत्रुखाना खाने बढ्दै छन्। तराईमा जहाँ वर्षैभरि हरियो तरकारी कुनै न कुनै फलफूल भइरहन्छ त्यहाँ कति धेरै भिटामिन ए को कमीले हुने समस्या छ। तर केवल भिटामिन ए को क्याप्सुल र औषधिको भरमा परेर आज भिटामिन ए र कुपोषणको समस्या समाधान गर्न सकिन्न भन्ने कुरा नेपालका ठूला ठूला अधिकारीहरूले बुझेका छैनन् भन्ने कुरा मैले बताएँ । 

त्यसरी नै ‘सूक्ष्म पोषणको पनि त्यत्तिकै समस्या भएको र तिनलाई समाधान गर्न पनि क्याप्सुल र औषधिकै मात्र भर परेर करोडौँ सरकारले खर्च गर्छ तर समस्या कम भएको छैन’ । (पोषणविद् उप्रेतीको फेसबुक वालबाट)



नयाँ