arrow

सुकेका पिँडुला र भोको पेटले धानेको नेपाली खेलकुद 

logo
मनोज लामिछाने, 
प्रकाशित २०८० फागुन २६ शनिबार
manoj-lamichhane-80-11-26.jpg

नेपाल अहिले दुई वटा कुराबाट तातिरहेको छ । एउटा सधै अस्थिरता, स्वार्थमा केन्द्रित राजनीति र नेताहरुप्रति नागरिकको वितृष्णा र अर्को नेपाली खेलाडीको कडा परिश्रमबाट आर्जित नागरिकको खेलाडीप्रतिको विश्वास, भरोसा, माया र सद्भाव । यी दुवै कुरामा नागरिकले नयाँपनको आशा गरिरहेका छन् । 

प्रसङ्ग नेपाली क्रिकेटको । केही समय यता नेपालमा क्रिकेटको क्रेज बढ्दै गैरहेको छ । नेपालका नेतादेखि बाल, वृद्ध र युवाहरु सबै वर्गले नेपाली खेलाडीले गरेको प्रदर्शनप्रति ठूलो आशा गरेका छन् । 

यो राष्ट्रिय राजनीतिको खेल जस्तो जात, वर्ग, क्षेत्र, लिंगको आधारमा गरिने स्वार्थ केन्द्रित राजनीति भन्दा पृथक विश्वास, भाइचारा, सद्भाव र सम्मानमा केन्द्रित क्रिकेट अहिले नेपाली माझ अत्यन्त प्रिय हुँदै गैरहेको छ । छोटो समयमा नै नेपाली खेलाडीहरुले गरेको प्रदर्शनबाट विश्वका कतिपय देशमा नेपालमा पनि क्रिकेटको विस्तार र विकाश गर्न सम्भव छ भन्ने आशा देखाएको छ । 

नेपालमा क्रिकेटको इतिहास त्यति लामो छैन । विक्रम सम्वत् १९७० को दशकमा श्री ३ चन्द्रशमशेरका छोरा मदन शमशेरले नेपालमा क्रिकेट भित्र्याएको मानिन्छ । तत्कालीन समयमा राणा शासकहरूले आफ्नो मनोरञ्जनका लागि क्रिकेट खेल्ने गरेको पाइन्छ ।

२००४ सालमा नेपालमा क्रिकेट संघको स्थापना भएको थियो । २००७ सालअघि राणा परिवार, उनीहरुका नातेदार र दौँतरीमा मात्र सीमित क्रिकेट २०१८ सालमा क्रिकेटलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा राष्ट्रिय संघको रूपमा दर्ता भएपछि नेपालमा क्रिकेटले मान्यता पायो र यसको विस्तार भयो । 

विगतमा राणाहरुले दरबार र टुँडिखेललाई मात्र क्रिकेट मैदानको रुपमा प्रयोग गर्दै आइरहेका थिए । राष्ट्रिय खेलकुद परिषद्मा राष्ट्रिय संघको रूपमा दर्ता पाएसँगै नेपालका कतिपय जिल्लाहरुमा क्रिकेट खेल्न थालियो । काठमाडौँको टुँडिखेल, रुपन्देहीको भैरहवा, बाकेको नेपालगञ्ज, बाराको कलैया, पर्साको वीरगञ्ज, धनुषाको जनकपुरलगायत तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालियो ।

विश्व इतिहासलाई हेर्ने हो भने क्रिकेट शब्द डच शब्दको क्रियाबाट आएको मान्यता छ । यसको अर्थ लट्ठी हुन्छ । सन् १७०६ मा बेलायतका विलियम गोल्डवेनले क्रिकेट खेलको नियमका बारेमा पुस्तक पनि प्रकाशन गरेका थिए । 

त्यतिबेला विकेटमा दुई वटा लट्ठी हुन्थे भने ४ बलको एक ओभर हुन्थ्यो । सन् १७४४ मा प्रकाशित क्रिकेटको दोस्रो नियमले दुई जना अम्पाएर हुने व्यवस्था गर्यो । 

सन् १७६० मा इङ्गल्याण्डमा स्थापना भएको ह्याम्ब्लेडन क्लब पहिलो क्रिकेट क्लब हो । त्यसपछि सन् १७८७ मा अर्को क्लब म्यारिलेबन स्थापना भयो । यसबाट के प्रष्ट हुन्छ भने क्रिकेटलाई विश्वमा चिनाउने राष्ट्र पहिलो बेलायत हो । 

क्रिकेटको शुरुआत पाँचौँ शताब्दीतिर भएको मानिए पनि औपचारिक रूपमा सन् १६४६ मा बेलायतको केन्टमा खेलिएको क्रिकेट खेल नै पहिलो क्रिकेट खेल भएको प्रमाण पाइन्छ । 

अनौठो त के हो भने १७ औँ शताब्दीको अन्त्यतिर केही पादरीले चर्चमा नगएर क्रिकेट खेलेकाले जरिबानासम्म तिरेको इतिहास छ । कुनैदिन क्रिकेट हेर्न गएकोमा जरिबाना गरिएको क्रिकेट आज विश्वका करौडौँ मानिसहरुको मन र मस्तिष्कमा बस्न सफल भएको छ ।
 
सन् १६४६ मा बेलायतको केन्टबाट शुरु भएको क्रिकेटले आज विश्वका अधिकांश मुलुकहरुमा यसले आफ्नो उपस्थिति जनाइसकेको छ । विश्वमा क्रिकेटको क्रेज लगातार बढ्दै गइरहेको छ । इङ्गल्याण्ड, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेस्ट इन्डिज, जिम्बाब्वे नेदरल्याण्ड्स, आयरल्याण्ड जस्ता धेरै देशहरुको बीचमा नेपालले पनि क्रिकेटमा आफ्नो दरिलो उपस्थिति जनाइरहेको छ । 

क्रिकेटका महारथी भनेर चिनिएका भारत, पाकिस्तान जस्ता राष्ट्रहरुले नेपाली क्रिकेट खेलाडीप्रति उच्च सद्भाव राख्नु यसको सुखद पक्ष हो । क्रिकेटले विश्वमा नेपालको एउटा छुट्टै पहिचान र छवि निर्माण गर्दै गइरहेको छ ।       

बेलायतीहरुले सन् १७०० को दशकमा भारतमा भित्राएको क्रिकेटलाई आज छिमेकी मुलुक भारतले उच्च प्राथमिकता दिएको छ । क्रिकेटमा उत्साहजनक लगानी गरेको छ । राज्यले भौतिक पूर्वाधारको विकास, तालिम, खेलाडीहरुको खानपान, स्वास्थ्य उपचार, खेलाडीप्रति गरिने ब्यवहार, सद्भाव, सम्मान र खेलाडीको आर्थिक उपार्जनका बाटाहरु खोलिदिएको छ । भारतमा क्रिकेटलाई राजनीतिबाट टाढा राखिएको छ । 

बिडम्बना हाम्रा नेपाली खेलाडीहरु सुकेको पिँडुला र भोको पेटले खेलिरहेका छन् । क्रिकेटमा राज्यको लगानी न्यून छ । एउटा राम्रो पूर्वाधार छैन । खेलाडीहरुको खानपान, स्वास्थ्य उपचार, तालिम र आर्थिक उपार्जनको बाटो अत्यन्त दयनीय छ । 

एउटा राम्रो क्रिकेट स्टेडियम नभएका कारण दर्शकहरु क्रिकेट हेर्नका लागि रुख चढेर ज्यान जोखिममा राखेर हेर्न बाध्य छन् । नेपाल क्रिकेट संघ (क्यान) भित्र पनि राजनीति घुसेको छ । राजनीतिक खिचातानीका कारण संघ बेला बेलामा विवादमा तानिएको छ । यसले गर्दा बेलाबेलामा खेलाडीहरुको उत्साहमा ब्रेक लाग्ने गरेको छ ।

नेपाली खेलाडीहरुले खेलका लागि ज्यानको बाजी लगाएर खेलिरहेका छन् तर सरकारको क्रिकेटमा न्यून लगानी र उदासीनताका कारण नेपाली खेलप्रेमीहरु प्नि उदासीन छन् । ठूला क्रिकेट स्टेडियमहरुको निर्माण गर्दै जाने त दूरका कुरा भए क्रिकेट मैदानमा एउटा सामान्य बत्तीसम्म छैन । 

कीर्तिपुरको एउटा क्रिकेट मैदानलाई ब्यवस्थित गर्न सकिएको छैन । मूलपानीको क्रिकेट मैदान वर्षौँ भैसक्यो निर्माण कार्य सकिएको छैन । कुनैदिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणले निक्कै चर्चा पायो र सेलायो । अहिले सरकारले यसको निर्माणमा चासो देखाएको छ तर नेपाली खेलप्रेमीहरु समयमा नै यसको निर्माण कार्य सम्पन्न हुनेमा ढुक्क छैनन् । 

क्रिकेटले दर्शकहरुलाई मनोरञ्जनमात्र दिएको छैन । यसले वर्ग, लिङ्ग, जात, भाषा, धर्मबाट माथि उठेर राष्ट्रिय एकतालाई पनि जोड्ने कार्य गरिरहेको छ । खेलाडीहरु भनेका राष्ट्रका गहना हुन् । 

सरकारले उनीहरुको उच्चतम हितलाई ध्यानमा राखेर योजनाहरु निर्माण गर्न अति आवश्यक छ । सरकारले फगत आश्वासनमात्र बाँड्ने र भौतिक पूर्वाधारको विकास, तालिम केन्द्रको स्थापना, खेलाडीहरुको खानपान, स्वास्थ्य उपचार, खेलाडीप्रति गरिने ब्यवहार, सद्भाव, सम्मान र खेलाडीको आर्थिक उपार्जनका मार्गहरु नखोलिदिने हो भने खेलाडीहरु पलायन हुन सक्ने जोखिम छ । 

झट्ट सुन्दा अप्रिय लाग्न सक्छ तर हाम्रा खेलाडीहरुको भोको पेट र सुकेको पिँडुलाबाट पदकको आशा गर्नु कति न्यायोचित हुन्छ ? यसतर्फ सरकारको ध्यान जान अति आवश्यक छ ।       
 



नयाँ