arrow

हुण्डी कारोबार अखडामा अपरेशनः नेपालगञ्जबाट दुई दिनमा डेढ करोडसहित आठ जना पक्राउ  

logo
सौरभ गिरी, 
प्रकाशित २०८० फागुन २८ सोमबार
banke-district-police.jpg
तस्बिर – फाइल ।

अपडेटः

नेपालगञ्ज। जिल्ला प्रहरी बाँकेले सोमबार फेरि नेपालगञ्जका दुई वटा होटेलमा छापा मार्दा करिब सवा करोड रुपैयाँ बरामद गरेको छ। प्रहरीले नेपालगञ्ज बसपार्कका दुई होटेलमा छापा मार्दा श्रोत नखुलेको १ करोड १५ लाख रुपैयाँसहित ५ जनालाई नियन्त्रणमा लिएको छ। 

आइतबार बाँके प्रहरीले तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेपछि उनीहरुको बयानका आधारमा गरिएको अपरेशनमा सोमबार नेपालगञ्ज ४ बसपार्कमा रहेको होटेल सन्तोष दंगालीमा बसेका ३५ वर्षीय रोहीत क्षेत्री, दाङका ४३ वर्षीय कृष्ण बिक र भारत घर भएका राहुल जैसवाललाई नियन्त्रणमा लिएको छ । 

त्यस्तै बसपार्ककै अर्को कालिका होटेलमा छापा मार्दा नेपालगञ्ज १६ जयसपुरका ५० वर्षीय सलिम जोलाह र सोही स्थानकै २५ वर्षीय आसिफ अन्सारीलाई नगदसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ। 

पक्राउ परेका उनीहरुको साथबाट १ करोड १५ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी बाँके श्रोतले जानकारी दिएको छ। 

जिल्ला प्रहरी बाँकेले आइतबार ३८ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेपछि हुण्डी कारोबारको अखडामा अपरेशन गरेको बताइएको छ।

प्रहरीले आइतबार दिउँसो नेपालगञ्जको धम्बोझी चोकको सांग्रिला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँसहित राजापुर १ बर्दियाका २० वर्षीय अनुप थारू र बर्दियाकै पूर्णिमा थारू र नेपालगञ्ज १६ जयसपुरका हसिब अजमत जसगढलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले सोमबार बरामद गरेको सवा करोड रुपैयाँ भारतमा भएको सुन कारोबारको हुण्डी रकम भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ