arrow

नेपाल–भारत क्रसबोर्डर भुक्तानीमा ११ बैंक र दुई पीएसपी जोडिए, कारोबारमा उत्साह

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
nepal-india-cross-boarder-transa.jpg

काठमाडौँ । नेपाल–भारत क्रस बोर्डर भुक्तानीमा वाणिज्य बैंक भुक्तानी सेवा प्रदायक (पीएसपी) गरी १३ वटा संस्था जोडिएका छन् । नेपालमा मोबाइल पेमेन्ट नेटवर्क सेवा प्रदान गर्दै आएको भुक्तानी सेवा सञ्चालक (पीएसओ) कम्पनी फोनपेका अनुसार हालसम्म उक्त संख्यामा वाणिज्य बैंक तथा सेवा प्रदायकको प्लेटफर्म यसमा आवद्ध भएका हुन् । 

यसरी आवद्ध हुनेहरुमा ११ वटा वाणिज्य बैंक तथा दुईवटा पीएसपी छन् । भुक्तानी सेवामा आवद्ध वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेका छन् । त्यस्तै, भुक्तानी सेवा प्रदायक कम्पनीहरु ईसेवा र खल्तीसमेत यो भुक्तानी प्रणालीमा आवद्ध भएका छन् । 

के हो क्रसबोर्डर डिजिटल भुक्तानी ? 
एउटा देशको बैंकमा रहेको खातामार्फत् अनलाइन माध्यमबाट अर्को देशको बैंकमा रहेको खातामा हुनसक्ने अनलाइन भुक्तानीलाई क्रसबोर्डर डिजिटल भुक्तानी भनिन्छ । यो सुविधा प्राप्त भएपछि एउटा देशको नागरिक अर्को देशमा जाँदा नगद बोकेर जानुपर्ने बाध्यता हुँदैन ।  

नेपाल र भारतबीच विगत लामो समयदेखि खुला सीमाना छ । खुला सीमानाकै कारण दैनिक हजारौँ भारतीयहरु नेपाल आउने गरेका छन् । त्यसैगरी दैनिक हजारौँ संख्यामा नेपालीहरुसमेत भारत जाने गरेका छन् । 

यसरी एक देशका नागरिक अर्को देशमा गएर वस्तु तथा सेवाको खरिद गर्दा यसअघि नगदमै भुक्तानी गर्नुपथ्र्यो । 

यसैले यसरी घुम्न आउँदा नगद सटही गरेर आउनुपर्ने बाध्यता थियो । नेपालमा ५०० र २००० दरका नोट नचल्ने भएकोले बढीमा १०० रुपैयाँ दरका नोट नेपाल बोकेर आउन झन्झट हुने गरेको थियो । 

अहिले नेपालमा बढीमा २५ हजारभन्दा बढीको भारतीय नोट बोकेर हिँड्न पाइँदैन । १०० वा सोभन्दा कम दरका नोट त्यो लिमिटमा बोकेर हिँड्न अप्ठेरो हुने भएकोले नेपाल आउने भारतीय पर्यटकले चाहेर पनि धेरै खर्च गर्न नसक्ने अवस्था थियो । यो भुक्तानी सेवासँगै अब दुवै समस्या समाधान हुनेछ ।

फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मीका अनुसार अहिले भारतका तीनवटा एप्लिकेसनमार्फत् नेपालका १३ वटा बैंक तथा पीएसपीको क्युआर कोड प्रयोग गरी भुक्तानी गर्न सकिन्छ । भीम युपीआई एप, फोनपे एप र गुगल पे एपमार्फत् यस्तो सुविधा उपलब्ध हुने गरेको नकर्मीको भनाइ छ । 

बैंकहरुको मोबाइल एपमार्फत् नेपालमा हुने भुक्तानीको सीमा भारत सरकारको निर्देशन अनुसार सम्बन्धित एपले तोकेअनुसार हुने नकर्मी बताउँछिन् । अहिले भारतमा भुक्तानीको सीमा छैन । त्यसैले नेपालमा आउने पर्यटकले जति पनि भुक्तानी गर्न सक्छन् । यसले भारतीयहरुले नेपालमा गर्ने खर्चमा वृद्धि गर्ने विश्वास गरिएको छ । 

यो सुविधासँगै बोर्डरमा महँगो कमिशन तिरेर नोट सटही गर्नुपर्ने बाध्यतासमेत हटेको छ । अहिले भारुको सटही बापत बोर्डमा ३ देखि ५ प्रतिशतसम्म कमिशन तिर्नुपर्छ । क्रसबोर्डर डिजिटल भुक्तानी गर्दा कुनै पनि शुल्क नलाग्ने फोनपेले जनाएको छ । 

नेपालबाट हुने भुक्तानीमा अवरोध
यो सुविधासँगै भारतबाट नेपाल आउने पर्यटकले गर्ने भुक्तानी सहज भए पनि नेपालबाट भारत जानेहरुले भुक्तानी गर्न भने अझै पाउने छैनन् । नेपालबाट भारतमा हुने भुक्तानीका लागि सबै पूर्वाधार तयार भए पनि नेपाल राष्ट्र बैंकको स्वीकृति नपाउँदा यस्तो भुक्तानी हुन नसकेको हो । 

नेपालबाट हाल विदेशमा पूँजी लैजान पाइँदैन । विदेश जानेले सीमित सटही प्राप्त गर्नेबाहेक वस्तु तथा सेवा आयातमा मात्रै भुक्तानी गर्न पाइन्छ । 

नेपालबाट हुनसक्ने पूँजी पलायन रोक्न सरकारले चालेको यो कदमकै कारण यस्तो अवरोध देखिएको हो । राष्ट्र बैंकबाट स्वीकृति पाउने बित्तिकै भुक्तानी सेवाका लागि आफूहरु तयार रहेको फोनपेकी मार्केटिङ प्रमुख नकर्मीको भनाइ छ ।

कारोबारमा उत्साह थपिँदै
अहिले यस्तो भुक्तानीको क्रम दिनप्रतिदिन बढ्दै गएको छ । हाल यो माध्यमबाट दैनिक ५ सय भन्दा बढी भुक्तानी हुने गरेको फोनपेले जनाएको छ । पछिल्ला १० दिनमा यो माध्यमबाट एक करोडभन्दा बढी कारोबार भइसकेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा गत जेठमा नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको थियो । 

त्यतिबेला नेपाल क्लियरिङ हाउस र नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच यस्तो समझदारी भएको थियो । 

यही सम्झौताका आधारमा गत भदौमा फोनपे र एनपीसीआईबीच क्रसबोर्डर क्यूआर भुक्तानीसम्बन्धी समझदारी भएको थियो । सोही सम्झौता अनुसार अहिले कारोबार शुरु भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ