arrow

धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ को आवेदन, कसको राजनीतिक पहुँच कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
security-board.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ । बोर्डको अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन बुधबारसम्म सो संख्यामा उम्मेदवारहरूले आवेदन दिएको समितिको सचिवालयले जानकारी दिएको छ । 

यसरी आवेदन दिनेमध्ये बोर्डका तीन जना कार्यकारी निर्देशक छन् । कार्यकारी निर्देशकहरू नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोखरेलले अध्यक्षका लागि आवेदन दिएका हुन् । 

त्यस्तै बोर्डकै पूर्व कार्यकारी निर्देशक निरज गिरी, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, नेप्सेका पूर्व महाप्रबन्धक सीताराम थपलिया, पूर्व सीईओहरू कृष्णबहादुर कार्की र शंकरमान श्रेष्ठ, नेप्सेकै पूर्व कर्मचारी प्रविन पन्दाकले समेत आवेदन दिएका छन् । 

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ, पूर्व कार्यकारी निर्देशक गोपाल भट्टसमेत यो दौडमा छन् । 

त्यस्तै शेयर बजारका विश्लेषकहरू विमल तिवारी, मुक्ति अर्याल, केशवप्रसाद श्रेष्ठ र रघु काफ्ले, खगेन्द्र कटुवाल, सन्तोषकुमार श्रेष्ठले समेत बोर्डको अध्यक्षमा आवेदन दिएका छन् । 

अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले फागुन १६ गते १५ दिनको समय दिएर नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो । 

आवेदन परेका व्यक्तिहरूले पेश गरेको कार्ययोजना तथा उनीहरूको योग्यता र अनुभवको आधारमा ५ जनालाई सर्टलिस्ट गरी अन्तर्वार्ताका लागि बोलाइनेछ । त्यसमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस हुनेछ ।  

यसअघि माघ ५ गते सरकारले राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । 

उक्त समितिमा अर्थसचिव कृष्णहरि पुष्कर सदस्य र उदय निरौला विज्ञ सदस्य छन् । 

कसको सम्भावना बढी ?
राजनीतिक नियुक्तिमा अहिले पनि योग्यता भन्दा राजनीतिक पहुँचलाई बढी महत्व दिइने भएकाले यसपटक धितोपत्र बोर्डको अध्यक्षका लागि पनि अहिलेको राजनीतिक समीकरणकै प्रभाव बढी हुने देखिन्छ । 

प्रधानमन्त्री, र अर्थमन्त्री अहिले माओवादीनिकट रहेको तथा प्रधानमन्त्रीले नै नियुक्ति गरेका राष्ट्रिय योजना आयोगका अध्यक्ष समितिको संयोजक भएकोले अहिले यो पद माओवादी निकटकै पोल्टामा पर्ने सम्भावना बढी देखिन्छ । 

आवेदकहरूमध्ये धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिीवी चापागाइँलाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।  

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई पनि दाबेदार मानिएको छ । राष्ट्र बैंकमा हुँदा हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग नजिक रहेका शिवराजले उनकै माध्यमबाट माथिल्लो तहसम्म कुरा मिलाइसकेकोसमेत चर्चा छ । 

चापागाई यसअघि माओवादी कोटाबाटै बीमा समितिका अध्यक्ष भएका थिए । राष्ट्र बैंकको निर्देशक हुँदा उनको सरप्राइज नियुक्ति भएको थियो ।

डा. नवराज अधिकारी बोर्डका पहिलो वरियताका कार्यकारी निर्देशक हुन् । उनी पनि माओवादी निकट मानिन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ