arrow

एक घण्टा ५२ मिनेटपछि बसेको बैठकमा सभामुख जबरजस्ती अगाडि बढेपछि वेल घेराउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
parliament-80-12-02a.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले जबरजस्ती बैठकलाई अगाडि बढाउन खोजेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वेल घेराउ गरेको छ । शुक्रबार दोस्रो सत्रको बैठकमा सभामुखले जबरजस्ती कार्यक्रम अगाडि बढाएपछि कांग्रेस सांसदहरु वेल घेराउ गर्न पुगेका हुन् । 

योसँगै संसद बैठक ४ गते सम्मका लागि स्थगित भएको छ । यसअघि दिउँसो २ः१३ बजे सभामुखले १५ मिनेटका लागि स्थगित गरेको बैठक १ घण्टा ५२ मिनेटपछि पुनः चालु गरेका थिए । 

उनले कांग्रेसको मागको सम्बोधन नगरी जबरजस्ती उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएपछि कांग्रेसले वेल घेराउ गर्न गएको थियो । 

सो क्रममा सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले गृहमन्त्रीको राजीनामासमेत मागेका थिए । त्यसपछि सभामुखले चैत ४ गते आइतबार डाक्ने गरी बैठक स्थगित गरे । 

यसअघि लामिछानेको राजीनामा माग्दै संसद अवरुद्ध गरेका थिए । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको पहिलो सत्रमा कांग्रेस सांसदहरुले  सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै संसद अवरुद्ध गरेका थिए । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रमुख प्रतिपक्ष संसदमा उभिएपछि बैठक अवरुद्ध हुने भन्दै प्रमुख प्रतिपक्ष उभिएपछि भाषणबाजी गरेर नौलो काम भएको बताएका थिए । 

उनले कुनै पनि मन्त्री छानबिनको घेरामा रहेको भए सरकारमा बसिरहनुको औचित्य नहुने नजिर यसअघिकै संसदमा प्रधानमन्त्रीले भनिसकेको भन्दै अब फेरि त्यसलाई दोहोर्याउनु गलत भएको बताएका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै आरोप लागेकालाई मन्त्री नबनाउने भनेपछि यसलाई पालना नगर्दा फेरि प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको अपमान गरेको ठहर्ने पनि लेखकले बताएका थिए । 

उनले प्रधानमन्त्रीले आफूले भनेको कुरा पालना गर्ने कि प्रतिपक्षलाई वेलमै बोलाएको हो ? भन्दै प्रश्न गरेका थिए । त्यसपछि सभामुखले समस्याको समाधान खोज्नका लागि १५ मिनेट बैठक स्थगित गरेका थिए । 

तर दोस्रो सत्रमा उनले एकाएक समस्या समाधानको पहलको सट्टा गृहमन्त्रीलाई अगाडि बढाउन खोजेपछि कांग्रेसले वेल घेराउ गरेको हो । 

कांग्रेसले शुक्रबारको बैठकको शुरुआतदेखि नै अनुसन्धानको घेरामा भएका गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएको थियो । 

के भनेको थियो कांग्रेसले ? किन भनेकाे थियो कांग्रेसले ? यो समाचार लिंक पढ्नुहोस् –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ