arrow

बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, छोरा भागेर बाँचे

logo
विवेक मिश्र, 
प्रकाशित २०८० चैत ७ बुधबार
killed-suicide-morang-12-07.jpeg

मोरङ । मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मोरङ बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

बमबहादुरले बुधबार बिहान १ः४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको दाहालले बताए । घटना भएको केही समयमै इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालको नेत्रीत्वमा प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरी निरीक्षक दाहालले बताए । 

उनका अनुसार धारिलो घरेलु हतियार प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यलय बेलबारीदेखि घटनास्थल करिब एक किलोमिटर दूरीमा रहेको छ ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

उनको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । गीताको शव बिहान ९ बजे पोष्टमार्टमको लागि विराटनगर लगिएको छ भने श्रीमानको शव कोशी अस्पतालमा रहेको छ । 

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोराले भने भागेर ज्यान बचाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ