arrow

गृहमन्त्रीसँग नेपालका लागि भारतीय राजदूतको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
ministry-home-affairs.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार भेटवार्ता गरेका छन् । 

भेटमा उनीहरुबीच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको उनको सचिवालयले जानकारी गराएको छ । 

गृह मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा गृहमन्त्री लामिछानेले दुई देशबीच रहेका संयन्त्रमार्फत् सहयोग आदान–प्रदानमा थप समन्वय तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने बताए । 

उनले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्ने र भएकालाई स्तरोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्नेमा जोड दिए । भेटका क्रममा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार नियन्त्रणको समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए ।

सो क्रममा उनले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्टीकृत तालिम उपलब्ध गराउन आवश्यक स्रोत व्यवस्थापनका लागि भारत तयार रहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ