arrow

यतीलाई आईपीओ ल्याउन बाध्य पार्ने गरी बीमा प्राधिकरणको नयाँ नियम

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
yeti-airlines-beema.jpg

काठमाडौँ । बीमा प्राधिकरणले बीमा कम्पनीले विभिन्न सात क्षेत्रमा गरेको लगानीलाई नियामकीय समायोजनको दायरामा ल्याएको छ । बीमाको वित्तीय विवरणसम्बन्धी निर्देशनमा पहिलो संशोधन गर्दै प्राधिकरणले यस्तो संशोधन थप गरेको हो । 

यसअनुसार तोकिएका सात क्षेत्रमा लगानी गरी विशेष अवस्था सिर्जना भएका लगानी बराबरको रकम नाफाबाट घटाउनु पर्नेछ । यी क्षेत्रहरुमा जलविद्युत् तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा क्षेत्र, कृषि क्षेत्र, केवलकार, शिक्षा र स्वास्थ्य क्षेत्र, घरजग्गा व्यवसाय क्षेत्र तथा प्राइभेट इक्विटी फण्ड र भेञ्चर क्यापिटल फण्ड रहेका छन् । 

यसमध्ये जलविद्युत् तथा सौर्य उर्जा, पर्यटन तथा वायुसेवा क्षेत्र, कृषि क्षेत्र, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरेको भए लगानी गरेको पाँच वर्षसम्म र केवलकारमा लगानी भएको छ वर्षसम्म त्यस्तो कम्पनी दोस्रो बजारमा सूचीकरण हुनुपर्ने र त्यसो हुन नसकेमा त्यस्तो लगानी बापतको रकमलाई वितरण योग्य नाफाबाट कट्टा गर्नुपर्ने उल्लेख गरिएको छ । 

त्यस्तै सूचीकरण भएर पनि लगानी गरेको पाँच वर्षभित्र व्यवसायिक सञ्चालनमा नआएमा कृषि क्षेत्रमा लगानी गर्दा तीन वर्षभित्र त्यस्तो कम्पनी नाफामा नगएमा, बीमा कम्पनीले लगानी गर्नुअघि नै सञ्चालनमा रहेको शिक्षा तथा स्वास्थ्य क्षेत्रका संस्थाहरु दुई वर्षभित्र नाफामा नगएमासमेत यस्तो समायोजन गर्नुपर्ने व्यवस्था गरिएको छ । 

त्यस्तै घरजग्गा व्यवसायमा लगानी गर्दा तोकिएको समयभित्र परियोजना पूरा नभएमासमेत यस्तो समायोजन गर्नुपपर्ने व्यवस्था गरिएको छ । त्यसबाहेक प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल लगायतमा गरेको लगानीमा लगानीको रकम भन्दा खुद सम्पत्ति मूल्य (एनएभी) कम भएमा कम भएको रकमसमेत वितरणयोग्य नाफामा घटाउनुपर्ने व्यवस्था गरिएको छ । 

समायोजनको असर यती एयरलाइन्समा
प्राधिकरणको यो निर्देशनको सबैभन्दा ठूलो असर यती एयरलाइन्समा देखिने भएको छ । उक्त कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सले करिब १ अर्ब ७५ करोड लगानी गरेर ४९ प्रतिशत शेयर खरिद गरेको छ ।

एयरलाइन्सको २ करोड १० लाख कित्ता शेयरको ४९ प्रतिशतले हुन आउने १ लाख २ हजार ९०० कित्ता शेयरलाई प्रतिकित्ता १७० रुपैयाँको दरले एसियन लाइफले करिब ६ महिनाअघि मात्रै खरिद गरेको थियो । 

उक्त कम्पनी दोस्रो बजारमा सूचीकृत नभएमा त्यसरी गरिएको लगानी बापतको रकम एसियन लाइफ इन्स्योरेन्सको नाफाबाट घटाउनुपर्ने भएकाले अब एयरलाइन्सले साढे ४ वर्षभित्र आईपीओ ल्याउनै पर्ने बाध्यता हुन्छ । 

अहिले एयरलाइन्स क्षेत्र सम्बद्ध कुनै पनि कम्पनीले आईपीओ ल्याएका छैनन् । 

एसियन लाइफ इन्स्योरेन्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ यो निर्णयबाट आफ्नो लगानीमा असर नगर्ने बताउँछन् । 

कम्पनीले एयरलाइन्समा लगानी गरेको केही समय मात्रै भएको र आईपीओ ल्याउने प्रक्रियासमेत अघि बढिसकेकाले तोकिएको समयभित्र यती एयरलाइन्सको आईपीओ आइसक्ने बताए । 

‘हामीले लगानी गरेको कम्पनी अबको ४ वर्षभित्र सूचीकृत भएन भने मात्रै त्यो लगानीको प्रोभिजनिङ गर्नुपर्ने हो । अहिले नै यसको प्रक्रिया अघि बढिरहेको छ । अबको एक डेढ वर्षभित्रै आईपीओ आइसक्छ, पूरै समय पनि लाग्दैन’, श्रेष्ठले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ