arrow

कांग्रेस महामन्त्री थापाको तीन दिने दोस्रो चरणको संवाद यात्रा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
gagan-thapa-80-12-15z.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबार बिहान नवलपरासीको गौरीगञ्जबाट शुरु भएको छ । स्थानीय चोकमा रहेको जननायक बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर उनले पहिलो चरणमा रोकिएको संवाद यात्रालाई निरन्तरता दिएका हुन् । 

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा तीन दिन चल्नेछ । सो अवधिमा महामन्त्री थापाले पाँच जिल्लामा संवाद यात्रा गर्ने छन् । 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले तीन दिन पाँच जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा स्थानीयसँग महामन्त्री थापाले संवाद गर्ने बताएका छन् । 

यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना रहेको छ ।

पहिलो दिन बिहीबार थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्ने छन् । बिहीबारै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरीसम्म पुग्ने कार्यक्रम रहेको छ ।

भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन् भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् ।

शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा शुरु भई कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम रहेको शिवाकोटीले बताए । 

सोही दिन कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछन् । १७ गते शनिबार बिहान दाङको गोवरडिहामा थारू संवादबाट शुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । 

बाँकेमा उनले सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्ने र फत्तेपुरमा जनसंवाद गर्ने छन् । 

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महामन्त्री थापाले तीन दिनको कार्यक्रम सकाएर काठमाडौँ फर्कने बताएका छन् । 

थापाले कांग्रेसको समुदायमा कांग्रेस अन्तर्गत नै रहेर संवाद यात्रा थालेका हुन् । रोकिएको समुदायमा कांग्रेस अभियान कार्यक्रम भने केन्द्रीय कार्यसमिति बैठक बसेर छिट्टै कार्यतालिका बनाउने मुख्यसचिव पौडेलले बताए । 

कार्यतालिका बनेपछि अन्य नेताहरु पनि जिल्लाजिल्ला पुगेर आफ्नो भूमिका पूरा गर्नेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ