arrow

महामन्त्री थापा भन्छन् – कांग्रेसका सबै क्रियाशील सदस्यमा खुशी ल्याउन आवश्यक छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
gagan-thapa-80-12-15x.jpg

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुशी र सन्तुष्टि ल्याउन आवश्यक रहेको बताएका छन् । पश्चिम नवलपरासीबाट बिहीबारदेखि शुरु भएको दोस्रो चरणको संवाद यात्रामा उनले कांग्रेसले आफ्ना सबै कार्यकर्तामा खुशी ल्याउनुपर्ने बताएका हुन् । 

उनले कांग्रेसमा आठ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुशी र सङ्गठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राखे । 

“यी सबै सदस्य खुशी भए भने देशका सबै मानिसलाई खुशी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुशीयाली आउँदैन”, उनको भनाइ थियो । त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुशी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उनको तर्क थियो । 

पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उनले बताए । जिल्लाहरुमा जाँदा विविध खालका समस्याहरु देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

उनले आउने संसदीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एक्लै लड्ने पनि जानकारी दिए । उनले बिहीबार यहाँस्थित गुठ्ठी सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको शुरुआत गरेका थिए । 

दोस्रो चरणमा उनले तीन दिनमा पाँच जिल्लाका स्थानीयसँग संवाद यात्रा गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ