arrow

सरकारले रुसी सेनामा कार्यरत नेपालीहरूलाई खोज्ने प्रयत्नसमेत गरेको छैन- प्रदीप पौडेल [भिडियो]

ग्रीन हाइड्रोजनमा लगानी गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
pradeep-poudel-nc.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसी सेनामा गएको नेपालीहरूको खोज्ने प्रयत्न समेत नगरेको बताएका छन् ।रुसमा नेपाल आउने चाहनमा तड्पिएर बसेका नेपालीहरूलाई फिर्ता ल्याउने काममा पनि सरकार गम्भीर नभएको सांसद पौडेलको भनाई थियो । 

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले ती नेपालीहरूलाई नेपाल ल्याउन प्रयास किन नगरेको भनी सरकारलाई प्रश्न समेत गरे । करिब ३ सय बढी रुसी सेनामा कार्यरत नेपालीहरू बेपत्ता भएको तथ्याङ्क आफूले पाएको उल्लेख गर्दै सांसद पौडेलले त्यसको खोजी गर्न समेत सरकारले पहल नलिएको जिकिर गरे । उनले युक्रेनी सेनामा पनि नेपालीहरू रहेको कुरा युक्रेनले सार्वजनिक गरेको भन्दै त्यसप्रति पनि सरकारले चासो नदिएको बताए ।

सांसद पौडेलले भने, ‘केही समय अघि हमासले बन्धक बनाएको विपिन जोशीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । नेपालले एउटा नेपाली नागरिकलाई उसको अवस्था पत्ता लगाएर नेपाल ल्याउन सकेको छैन । पछिल्लो समय अर्को कुरा व्यापक ढंगले आइरहेको छ । नेपालीहरू रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ । तर नेपालीहरू कति संख्यामा रुसी सेनामा छन्, उनको अवस्था के छ, उनका आफन्तहरू कुन पीडामा बाँचिरहेका छन् ? भन्ने कुरामा सरकार बेखबर छ । बेखबर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन । अघिल्लो परराष्ट्रमन्त्रीज्युले समय मिलाउनु भयो । पछिल्लो पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गरे, संवाद गरे । अनुरोध गरे कि हाम्रो सेना फिर्ता गरिदेऊ । माननीय अर्थमन्त्रीज्यूले रुसी राजदूतलाई बोलाएर भेट्नुभयो । राजदूत महोदयले जवाफ दिनुभयो–तपाईँका नागरिक आधिकारिक रूपमा हाम्रा सेनामा गएका होइनन् । उनीहरू फर्कन पनि चाहँदैनन् । त्यो शब्द कूटनीतिक मर्यादाभित्र पर्छ कि पर्दैन ? त्यसैले सरकारले यसको बारेमा एकिन तथ्याङ्क आजसम्म निकाल्न सकेको छैन । मैले पीडित परिवारलाई भेटेको थिए । यो क्षेत्रमा काम गर्ने केही स्वयमसेवीहरुलाई भेटेको थिए । उनहरूको भनाइको आधारमा मलाई एउटा विवरण प्राप्त भएको छ । कम्तीमा पनि रुसी सेनामा ७ सय नेपाली छन् । तीमध्ये ४० जनाको मृत्यु भइसकेको छ । नेपालमा त्यो लास आउन नसकेर मृतकका परिवारले कुशको प्रतीक बनाएर उनहरूको कृयाकर्म गरिसक्नुभएको छ । ११७ जना घाइते छन् । यो मैले कम्तीमा नेपालमा कन्टयाक्ट भएकाहरूको तथ्याङ्क बनाउँदै छु । करिब ३ सय बेपत्ता छन् । अनि थुप्रै व्यक्तिहरू देश फर्कनका लागि फारम भरेर बसेका छन् । सरकार अलपत्र परेको ती नेपालीको उद्धार गर्ने काम त परै जाओस् कति छन् त्यहाँ नेपालीहरूको भनेर यकिन तथ्याङ्क पत्ता लगाउने कोसिस पनि गरिरहेका छैन । रुसमा मात्रै होइन, युक्रेनी सेनामा पनि बन्दीका रूपमा नेपालीहरू रहेको कुरा युक्रेनले नै सार्वजनिक गरेको छ । नेपालको परराष्ट्र मन्त्रालय, यसको संयन्त्रले नेपालीहरूको उद्धार गर्ने काममा निम्ति अहिलेसम्म के गरेको छ ? सरकारले गर्न सक्दैन भने सरकारले मानव अधिकारवादी संस्थाहरूलाई अनुरोध गर्न सक्छ । रेडक्रसलाई अनुरोध गर्न सक्छ । युएनलाई अनुरोध गर्न सक्छ । नेपाली ल्याउनका लागि सरकारको जुन ढङ्गको पहल हुनुपर्ने हो, त्यो पहल भएको अवस्था छैन । म यतातिर सरकारको गम्भीर रूपमा ध्यान आकृष्ट गर्न चाहन्छु । ’

सांसद पौडेलले सरकारले युएनलगायतका मानव अधिकारवादी सङ्घ, संस्थासँग आग्रह गरेर भए पनि रुस र युक्रेनको सेनामा कार्यरत नेपालीहरूलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने धारणा समेत राखे । उनले सरकारले ग्रीन हाइड्रोजनमा लगानी गर्नुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ