arrow

आईटी क्षेत्रमा हलचल

कोटिभिटी प्रकरणले भयभित अवस्थामा विदेशी लगानीका आईटी कम्पनी

यो प्रकरणले नेपालबाट निर्यात हुने वस्तुमा लाग्ने करबारे नयाँ बहस छेँडियो

logo
शंकर अर्याल, 
प्रकाशित २०८० चैत २० मंगलबार
cotiviti2024.jpg

काठमाडौँ । आइतबार राजश्व अनुसन्धान विभागले एउटा सूचना प्रविधि (आईटी) क्षेत्रसम्बद्ध कम्पनीविरुद्ध मुद्दा दायर गर्यो । ५ अर्ब १८ करोड भन्दा बढी बिगो र त्यति नै बराबर जरिबाना मागदाबीसहित दायर गरिएको उक्त मुद्दा मागदाबीको हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो हो । 

एउटै कम्पनीविरुद्ध अहिलेसम्म राजश्व अनुसन्धानले यति ठूलो मुद्दा चलाएको थिएन । यो प्रकरणलाई विभागले एउटा महत्वपूर्ण उपलब्धिको रुपमासमेत हेरेको छ । 

तर यो प्रकरणले समग्र आईटी क्षेत्रमा भने हलचल ल्याएको छ । नेपालभित्र रहेर आईटी क्षेत्रमा काम गर्दै विदेशमा सेवा निर्यात गरिरहेका कम्पनीहरु यो मुद्दा बाहिर आएपछि हतास भएका छन् । 

कोटिभिटी प्रकरण आफूमा दोहोरिने डरका कारण विदेशी कम्पनीहरुले नेपाल छोड्ने तयारी गरिसकेका छन् भने नेपालीले सञ्चालन गरेका कम्पनीहरु अब के होला भन्ने आशंकामा छन् ।

नेपालमा आगामी बैशाखमा लगानी सम्मेलन हुँदै गर्दा यसरी भइरहेको भयले सन्देश राम्रो नजाने विश्लेषणसमेत भइरहेको छ ।

के हो कोटिभिटी ?
कोटिभिटी इन्कर्पोरेसन एउटा अमेरिकन लगानीको आईटी कम्पनी हो । यो कम्पनीले अमेरिकी बजारमा हेल्थ केयर सम्बन्धी तथ्यांकहरुको विश्लेषण तथा त्यससँग सम्बद्ध सफ्टवेयर निर्माण गर्दै आएको छ । यो कम्पनीको दोस्रो बजारमा यो कम्पनीको बजार पूँजीकरण मात्रै ४.२ बिलियन अमेरिकी डलर छ । 

कोटीभिटी नेपाल प्रालि (प्यान ३०१६१६१९१) नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । कम्पनीको साविकको नाम भर्सिक इन्फर्मेशन टेक्नोनोली प्रालि  रहेकोमा मिति २०७३ श्रावण २८ गते (१२ अगष्ट २०१६) को शेयरधनीको निर्णयअनुसार कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गरी कम्पनी रजिष्ट्रारले २०७३ साल भदौ ८ गते स्वीकृत प्रदान गरेको देखिन्छ । 

त्यस्तै कम्पनीको २०७५ साल कार्तिक १ गतेको शेयरधनीको विशेष निर्णय बमोजिम भर्सेन्ड टेक्नोलोजी प्रालि नाम परिवर्तन गरी कोटोभिटी नेपाल प्रालि कायम गर्न निवेदन दिएबमोजिम २०७५ साल पुस ८ को पत्र बमोजिम हालसम्म सो कम्पनीले कोटिभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको देखिन्छ ।

राजश्वले कहाँ देख्यो कर छली ?
अहिले राजश्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उक्त कम्पनीले २ वटा तरिकाबाट कर छलेको दाबी गरिएको छ । पहिलो, अफसोर कारोबारबाट स्वामित्व परिवर्तन हुँदा प्राप्त भएको लाभबापत नेपाललाई बुझाउनुपर्ने पूँजीगत लाभकर नबुझाएको र दोस्रो नेपालबाट सेवा निर्यात गर्दा लाग्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको । 

कोटिभिटी नेपालको व्यावसायिक सम्बन्ध यसको मुख्य कम्पनीसँग भएको दाबीसहित यो अवधिमा भएका सबै बिक्री बापतको कर दाबी गर्दै राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । 

यस्तो छ विभागको अभियोग
राजश्व अनुसन्धान विभागले अनुसन्धान सम्पन्न गरी कोटिभिटी नेपाल प्रालि (स्थायी लेखा नं. ३०११६१६१९१) विरुद्ध अभियोग दायर गरेको छ। अनुसन्धानको क्रममा शेयरधनी दर्ता किताब प्राप्त गरी विष्लेषण गर्दा भेरिस्क इन्फर्मेशन टेक्नोलोजिज् प्रालि. (प्रा.लि.नं. २८३३४/०६०/६१) को नाममा मिति २०७१/०९/०६ मा शेयरधनी दर्ता किताबमा डिटु हकाई, इंक, मिति २०७१/१२/१३ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक, मिति २०७२/०३/०४ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक (शेयर बृद्धि) उल्लेख भएको, भर्सेन्ड टेक्नोलोजिज् प्रालि (प्रा.लि.नं. २८३३४/०६०/६१) को नाममा मिति २०७५/०२/३० मा शेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएको, कोटिभिटी नेपाल प्रालि (प्रा.लि.नं. २८३३४/०६०/६१) को नाममा मिति २०७६/०५/२६ मा शेयरधनी दर्ता किताबमा कोटिभिटी इंक उल्लेख भएको देखिएको तथा विभागलाई प्राप्त सूचना समेतको आधारमा छानविन गर्दा प्रस्तुत कम्पनीको विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भएतापनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मुल्य अभिबृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको हो।

कोटिभिटी नेपाल प्रालि (प्यान ३०१६१६१९१) नेपालमा दर्ता भएको पूर्ण बैदेशिक लगानी भएको कम्पनी हो। कम्पनीको साविकको नाम भेर्सिक इन्फरमेसन टेक्नोलोजी प्रालि रहेकोमा मिति २०७३ श्रावण २८ गते (१२ अगष्ट २०१६) को शेयरधनीको निर्णय अनुसार कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गरी कम्पनी रजिष्ट्रारले मिति २०७३।०५।०८ मा स्विकृत प्रदान गरेको देखिन्छ। त्यस्तै, कम्पनीको मिति २०७५।०७।०१ को शेयरधनीको विशेष निर्णय बमोजिम भर्सेन्ड टेक्नोलोजी प्रालि नाम परिवर्तन गरी कोटिभिटी नेपाल प्रालि कायम गर्न निवेदन दिएबमोजिम २०७५।०९।०८ को पत्र बमोजिम हालसम्म सो कम्पनीले कोटिभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको देखिन्छ।

कम्पनीको आव २०७२।७३ मा कुल १७,०५,२०२ कित्ता सम्पूर्ण शेयर भेरिक्स हेल्थ ईन्क, संयुक्त राज्य अमेरीकाको नाममा (२०७१।११।२७ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताव अनुसार) रहेको देखिन्छ। त्यस्तै, मिति २०७५।०२।२१ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताव अनुसार कम्पनीको एकल शेयरधनी भर्सेन्ड टेक्नोलोजी इंक, संयुक्त राज्य अमेरीका रहेकोमा मिति २०७५।०७।२६ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताव अनुसार कम्पनीको एकल शेयरधनी कोटिभिटि इंक संयुक्त राज्य अमेरीका रहेको देखिन्छ।

मुल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा ७ मा मुल्य अभिबृद्धि करका दरहरुको व्यवस्था गरेको छ। सो व्यवस्था अनुसार अनुसूचि-२ मा उल्लिखित सेवाको कारोबारमा शुन्य दरमा कर लाग्ने व्यवस्था गरेको छ। अनुसूची -२ को दफा २ (क) मा नेपाल भित्र बसोबास भएको व्यक्तिले नेपालमा कुनै व्यवसायिक कारोबार, व्यवसायिक प्रतिनिधित्व वा कानूनी रुपमा मान्य प्रतिनिधि नभएको नेपाल बाहिरका व्यक्तिलाई आपुर्ति गरेको सेवामा शुन्य दरमा कर लाग्ने व्यवस्था गरेको छ।‍

कोटिभिटी नेपाल प्रालि मिति २०८०/१/२१ मा राजस्व अनुसन्धान विभागलाई लेखेको पत्रमा कोटिभिटी नेपाल प्रालिले वस्तु तथा सेवाको निर्यात कोटिभिटी इंकलाई मात्रै गरेको ब्यहोरा उल्लेख छ। कोटिभिटी नेपाल प्रालिले आफुले उत्पादन गरेको सेवा कोटिभिटी इंक वाहेक अरुलाई बिक्री गरेको देखिँदैन। यसले कोटिभिटी नेपाल प्रालि नै कोटिभिटी इंकको व्यवसायिक प्रतिनिधि भएको तथ्य पुष्टि हुन्छ ।

कोटिभिटी नेपाल प्रालिको मिति २०७६/५/२६ मा अद्यावधिक गरेको शेयरधनी दर्ता किताबमा शेयरधनीको नाम तथा ठेगानामा कोटिभिटी इंक, २००१ जोन्स रोड, चौथो तल्ला, वाल्थम, एमए ०२४५१ संयुक्त राज्य अमेरिका उल्लेख गरेको र कोटिभिटी इंक नै संस्थापक शेयरधनी भएको देखिएबाट कोटिभिटी इंक मुख्य कम्पनी (होल्डिङ कम्पनी) र कोटिभिटी नेपाल प्रालि सहायक कम्पनी (सब्सिडरी कम्पनी) रहेको तथ्य स्थापित भएको छ।

कोटिभिटी इंक, १०७०१ एस रिभर फ्रन्ट पिकेडवल्यूवाई युनिट २०० साउथ जोर्डन, यूटि ८४०९५ (७००) ३७९-२८०० ले २ अक्टोवर २०२३ 2023 मा कोटिभिटी नेपाल प्रालि ४२९, हात्तीसर, पो बक्स ६०५८ काठमाडौं, नेपाललाई लेखेको पत्रको बेहोराले कोटिभिटी नेपाल प्रालि नामको कम्पनी कोटिभिटी इंक, १०७०१ एस रिभर फ्रन्ट पिकेडवल्यूवाई युनिट २०० साउथ जोर्डन, यूटि ८४०९५ (७००) ३७९-२८०० (होल्डिङ कम्पनी) को सहायक कम्पनी (सब्सिडरी कम्पनी) भएको तथ्य स्विकारेको छ।

कोटिभिटी नेपाल प्रालिले मिति २०८०/०१/२१ मा यस विभागमा पेश गरेको बस्तु तथा सेवा निर्यात गरिएको कम्पनीको नाममा डिटू हकाआई इंक., डिटू हकाआई इंक /भेरिस्क हेल्थ इंक., भेरिस्क हेल्थ इंक., भेरिस्क हेल्थ इंक./भर्सेंड टेक्नोलोजीज इंक., भर्सेंड टेक्नोलोजीज इंक./कोटिविटी इंक. तथा  कोटिभिटी इंक उल्लेख गरेबाट कोटिभिटी नेपाल प्रालिसम्म आईपुग्दाका सबै कारोबारहरु मुख्य कम्पनी (होल्डिङ कम्पनी) कोटिभिटी इंक कै सहायक कम्पनी (सब्सिडरी कम्पनी) रहेको तथ्य पुष्टि हुन्छ।

अनुसन्धानका क्रममा प्राप्त तथ्य, आधार र कारणबाट कोटिभिटी नेपाल प्रालि कम्पनी कोटिभिटी इंकको सहायक कम्पनी (सब्सिडरी कम्पनी) भएकोले मुख्य कम्पनी (होल्डिङ कम्पनी) को लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनी (होल्डिङ कम्पनी) को व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनी (होल्डिङ कम्पनी) को नेपाल स्थित कानूनी रुपमा मान्य प्रतिनिधि समेत देखिएको कारणले गर्दा डिटू हकाआई इंकबाट कोटिभिटी इंक हुँदासम्मका कारोबारले डिटू हकाआई सर्विसेज प्रालिबाट कोटिभिटी नेपाल प्रालि हुँदा सम्मका कारोबारले यी दुई कम्पनीका बीचमा मुल्य अभिबृद्धि कर ऐन, २०५२ को अनुसूचि-२ को दफा २(क) आकर्षित हुने देखिएन। कम्पनीले गरेको बिक्री निर्यात भएकोमा द्विविधा रहेन तर कोटिभिटी नेपाल प्रालि मिति २०८०/१/२१ मा राजस्व अनुसन्धान विभागलाई लेखेको पत्रमा कोटिभिटी नेपाल प्रालिले वस्तु तथा सेवाको निर्यात कोटिभिटी इंकलाई मात्रै गरेको ब्यहोरा उल्लेख गरेबाट कोटिभिटी नेपाल प्रालिले निर्यात गरेको सेवा  मुल्य अभिबृद्धि कर ऐन, २०५२ को अनुसूचि-२ को दफा २(क) बमोजिमको सुविधा पाउने निर्यात हो भन्न सकिएन।

माथि विवेचित आधार, कारण र तथ्यबाट प्रस्तुत कम्पनीले आफुमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई सो बमोजिम सिर्जना हुने प्रचलित कानून बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क) र (च) बमोजिमको कसुर गरेको पुष्टि भएकोले रु. ४१६,४१७,९६५.८० र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (ग) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएकोले रु.४,७६५,८४३,३५५.०० गरी कुल विगो रकम रु.५,१८२,२६१,३२१ रहेको छ।

प्रस्तुत कम्पनीले आफुमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई सो बमोजिम सिर्जना हुने प्रचलित कानून बमोजिमको कर दायित्व पुरा नगरी तथा मुख्य कम्पनी (होल्डिङ कम्पनी) कोटिभिटि इंकलाई आफ्नो सेवा विक्री गरी राजस्व चुहावट गर्ने उद्देश्यले कोटिभिटी इंक, १०७०१ एस रिभर फ्रन्ट पिकेडवल्यूवाई युनिट २०० साउथ जोर्डन, यूटि ८४०९५ (७००) ३७९-२८०० मुख्य कम्पनी ((होल्डिङ कम्पनी) को सहायक कम्पनी (सब्सिडरी कम्पनी)) काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. १ हात्तिसार स्थित कोटीभिटी नेपाल प्रा. लि.(स्थायी लेखा नं. ३०११६१६१९१), डा. इमाद रिस्क, श्री ब्रेट मगुन, सुश्री केरी एस्किन, श्री पिटर सापो, सुश्री अपर्णा कोथुर समेतले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को देहाय (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएकोले सोही ऐनको दफा २(छ१) बमोजिमको कुल विगो रु. ५,१८२,२६१,३२१/- (पाँच अर्ब अठार करोड बाइस लाख एकसठ्ठी हजार तीनसय एक्काइस रुपैंया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) बमोजिम मागदावी लिई उच्च अदालत, पाटनमा अभियोग दायर गरिएको छ।

अनुसन्धान शुरु भएपछि बाहिरियो कम्पनी
नेपालमा राजश्व अनुसन्धान विभागले छानबिन शुरु गर्नेबित्तिकै कोटिभिटीले भने आफ्नो कस्ट सेन्टर बन्द गरेको छ। करिब ६ सय २० जना कर्मचारी रहेको उक्त कम्पनीले आफ्नो कार्यालय बन्द गर्दै कर्मचारीहरुको जिम्मा इन्फिनिटी सर्भिसेस नामको कम्पनीलाई लगाएको छ। नेपालमा कुनै पनि आर्थिक कारोबार नहुने अनलाइनबाटै सबै कामहरु हुने भएको कारणले सो कम्पनीले सजिलैसँग कार्यालय बन्द गरेर गएको हो। अहिले दायर भएको मुद्दामा कम्पनीका तर्फबाट प्रतिवाद गर्न कोही आउँछ भन्नेमा अहिले राजश्व अनुसन्धान विभागसमेत निश्चित छैन ।
 



लोकप्रिय समाचार
नयाँ