- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ ।
कास्की जिल्ला एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको उक्त म्याराथन आयोजना हुने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ पाँच किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ पाँच किलोमिटर दौड हुनेछ ।
चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान गरिएको खड्काले बताए ।
प्रतियोगितामा हाफ म्यराथनको विजेताले रु ६० हजार पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमश: रु ३० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
दश किमीको महिला/पुरुष राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाउने छन् ।
तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार पाँच सयका साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने सचिव खड्काले जानकारी दिए ।
पाँच किमी विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, तृतीयले रु पाँच हजार, सान्त्वनाले रु तीन हजार र पाँचौँले रु दुई हजारका साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।
भेट्रान्सतर्फको विजेताले रु १० हजार, उपविजेताले रु सात हजार, तृतीयले रु पाँच हजार पाउने सदस्य सचिव खड्काले जानकारी दिए ।
दौड पूरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० धावकलाई मेडल प्रदान गरिने समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए ।
दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर यही चैत २९ गतेसम्म नाम दर्ता गर्न सकिने छ ।
भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भूगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य सङ्घको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुङ्गिने छ ।
खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे। लेखनाथ पनि पोखराभित्रै पर्ने भए पनि केही पिछडिएको जस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको उनको भनाइ छ ।
पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रियस्तरका अन्य प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेको बताए । सात वटा ताल र धेरै कोट मन्दिरहरू रहेको यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य भएको उनको भनाइ छ ।
भण्डारढिकमा रहेको रङ्गशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने भन्दै वडाध्यक्ष गुरूङले वडाबाट पनि बजेट लगानी गर्ने उल्लेख गरे ।
उनले पोखरा-२९ मा रङ्गशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।