- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् झाले बताए । उनले भने, “आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुले पनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना छैन ।”
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ विश्वकै प्रदूषित सहर
काठमाडौँ अहिले विश्वकै सर्वाधिक प्रदूषित सहरसमेत भएको छ । काठमाडौँको औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) बुधबार बिहान २४७ रहेको छ । यो विश्वका अन्य सहरहरुभन्दा बढी हो ।
भारतको नयाँदिल्ली २१४ सहित दोस्रो तथा पाकिस्तानको लाहोर २०७ सहित तेस्रो स्थानमा रहेको छ ।
अहिले वर्षा पनि हुन नसक्दा काठमाडौँमा प्रदूषण झन् बढेको छ । सरकारले आगलागी नियन्त्रणका लागि कुनै ठोस कदम चाल्न सक्दा वन जंगल त ध्वस्त भएको छ नै यसले मानवीय क्षतिसमेत बनाएको छ ।
सँगसँगै स्वास्थ्यलाई गम्भीर असर गर्ने प्रदूषण बढेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ ।
तर विश्वकै प्रदूषित बनेको काठमाडौँमा केही दिनदेखि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कणको मात्रा २० गुणासम्म बढेको छ ।
आइतबारदेखि बुधबारसम्म लगातार चार दिन काठमाडौँको प्रदूषण चरम उत्कर्षमा छ ।
एक त काठमाडौँ एकदमै प्रदूषित छ त्यसमाथि यो कचौरा आकारको काठमाडौँ उपत्यकामा प्रदूषण छिरेपछि हट्न मुस्किल पर्छ । तीव्र वेगमा हावा लाग्ने वा भारी वर्षा नभएसम्म प्रदूषण कम हुन मुस्किल पर्छ ।
अहिलेसम्म प्रद्रषण काम गर्न कुनै पनि माध्यमको प्रयोग नेपालमा भएको छैन । आगामी केही दिनसम्म उपत्यकामा वर्षा हुने सम्भावनासमेत देखिएको छैन ।
सरकारको नजरमा परेन वायु प्रदूषण
वायू प्रदूषणकै कारण मुलुकमा वार्षिक हजारौँको मृत्यु हुँदै आएको छ । यद्यपि सरकारको प्राथमिकतामा वायु प्रदूषण पर्न सकेको छैन ।
त्यसगरी कृषि अवशेष जलाउने र राम्रो घाँस उम्रने आशामा जंगल वा आफ्नो खर्यानमा आगो लगाउने गलत प्रवृत्ति नहटेसम्म वायु प्रदूषण घट्ने देखिँदैन ।
सरकार मिथ्यामा अनेक कामका लागि श्रम, शक्ति र पैसाको खोलो बगाउने गर्छ तर आगलागी र प्रदूषण रोक्न कुनै पहल नै गर्दैन ।
हालका दिनमा देशका सयौँ स्थानमा आगलागी र डढेलो लागेको छ । जसका कारण मुलुक नै वायु प्रदूषणको चपेटामा परेको छ । लागेको डढेलो निभाउने समन्वय नभइदिँदा मानवीय क्षतिसमेत भएको छ ।
घरपालुवा एवं जंगली जनावरकोसमेत ज्यान गइरहेको छ । तीन ओटै तहका सरकारबीच कुनै समन्वय हुन नसक्दा यसले भयावह स्थिति लिइरहेको छ ।
सुक्खायाममा फाटफुट डढेलो लाग्ने भए पनि मानवीय त्रुटि बढी भएका कारणले लाग्ने डढेलो चरम रुपले बढेको छ भने कृषि अवशेषहरू जलाउने क्रम बढ्दा त्यसले वायु प्रदू्रषण पनि बढेको छ ।
जसका कारण राजधानी काठमाडौंसहितका स्थानको वायु प्रदूषण अत्यन्त बढेको छ ।