arrow

बगरमा तालको गुरुयोजना बनाउने मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
bharat-thapa-mayor-corrupti.jpg

काठमाडौँ । बागमतीको पानी ल्याएर कृत्रिम तालको गुरुयोजना बनाएका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ । 

आयोगले मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार आम्दानी गरेको देखिए पनि यही अवधिमा १३ करोड २० रुपैयाँ खर्च र लगानी गरेको भन्दै बाँकी हुन आउने रकम अकुत रुपमा कमाएको दाबी गरेको हो । अख्तियारले थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना मागदाबी गरेको छ । 

अघिल्लो कार्यकालमा समेत मेयर रहेका उनले बाग्मती किनारामा रहेको बगरलाई ताल बनाएर मधेशदेखि भारतीय पर्यटकलाई समेत आकर्षित गरेका थिए । उक्त तालालई माछा पोखरीदेखि बेमौसमी सिँचाईको लागि उपयोग गर्ने नगरपालिकाको योजना थियो । 

बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा स्थित १ सय २१ बिघा क्षेत्रफलमा उनले तालका अतिरिक्त पिकनिक स्पटदेखि शिव पार्वतीको मन्दिर निर्माण गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने योजना बनाएका थिए । 

त्यस्तै, तालको दक्षिण र पश्चिम भागमा बाँझो रहेको थप ९० बिगाहा जमिनमा बगैंचा समेत बनाउन सुरु गरेका थिए । यो तालबाट मात्रै होटल, अटोरिक्सा, बोटिङ तथा अन्य ब्यापार समेत गरी एक हजार जनाले रोजगारी पाएको नगरपालिकाले जनाएको छ । अहिले बिदाको दिन बाहेक नै औसत २ हजारको दरले पर्यटकहरु भरत ताल हेर्न आउने गरेका छन् । 

अहिले तालबाट मात्रै नगरपालिकालाई वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी भइरहेको नगरपालिकाले जनाएको छ । अहिले नगरपालिकाले पर्यटकलाई बस्नका लागि तालकै छेउमा ७ करोड लगानीमा सुविधासम्पन्न होटल निर्माण गर्दैछ । होटल बनेपछि धेरै दिनसम्म घुम्न आउने वा घुम्न आउँदा ताललाई ट्रान्जिट बनाउने पर्यटक बढ्ने भएकोले आम्दानी बढ्ने नगरपालिकाले जनाएको छ । 

अहिले भ्रष्टाचार मुद्दा दर्ता भएसँगै मेयर थापा निलम्बनमा परेका छन् । अब मुद्दाको अन्तिम किनारा नलागेसम्म उनले मेयरको रुपमा कुनै पनि काम गर्न पाउने छैनन् ।



लोकप्रिय समाचार
नयाँ