arrow

२०८१ सालको समग्र भविष्यफल

सरकार क्रूर र नृशंस, जनधनको सुरक्षामा उदासी

logo
हरि पन्त,
प्रकाशित २०८१ वैशाख १ शनिबार
hari-pant-80-01-01.jpg

यस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले पिङ्गलनामको संवत्सरको समाप्ति हुने छ भने कालयुक्तनामको संवत्सर प्रारम्भ भएको छ । मेष संक्रान्तिबाट भुक्तमासादि ०–२५–२१–३६ र भोग्यमासादि ११–४–३८।२४ रहेको छ । यसपछि सौरमानले सिद्धार्थनामक संवत्सरको आगमन हुनेछ । 

संवत्सरफल
कालयुक्त संवत्सरमा सामयिक नीति नियममा रहनाले प्रायः सबै प्राणीहरू सुखी हुनेछन् । धान्यादि उत्पादनमा प्रचुरताका साथै अनेकौं रोगहरूको उत्पत्तिसमेत हुनेछ । सिद्धार्थनामक संवत्सरको प्रभावसँगै राजा (शासकवर्ग) र जनता सबै शान्त एवं निर्वैर हुनेछन् । सर्वत्र धान्यादिको उत्पादनले पृथ्वी सुशोभित हुनेछ । अनाजको यथोचित मूल्य प्राप्तिले कृषकवर्गमा प्रशन्नता छाउनेछ । 

गुरुको उदयास्त कार्तिक वर्ष परेकाले अग्निजीवी, गाई पालेर जीविका गर्ने र यातायात व्यवसायीहरू पीडित हुनेछन् । शस्त्रप्रकोप, अग्निभय, भोकमरी जस्ता अशुभ फलको आधिक्य हुनेछ भने पुष्पजीवीहरूको वृद्धि हुनेछ । राजा मङ्गलका कारण अग्निभय, जनधनको क्षति, चोर डाँकाको भय, शासकहरूमा विग्रह, जनतामा दुःख, कष्ट, रोगव्याधिजन्य दुःख हुनेछ भने मेघबाहुल्य रहे पनि वृष्टिमा न्यूनता आउनेछ । 

मन्त्री शनिका कारण सरकार क्रूर र नृशंस बन्नेछ । जनधनको सुरक्षामा सरकार उदासीन बन्नाले जनता दुःखी हुनेछन् । लोकरञ्जनकारक वृष्टिको अभाव हुनेछ । फलस्वरूपः जनताले यदाकदा र कतैकतैमात्र सुखको सास फेर्नेछन् । सस्येश पदमा आसीन मङ्गलका कारण हात्ती, घोडा, गधा, ऊँट, गाईलगायतका पशुधनमा रोगव्याधिको सम्भावना, असन्तुलित वृष्टिका कारण धान्यादि उत्पादनमा न्यूनताजस्ता अशुभ फलका बाबजुद धान्येश चन्द्रका कारण केही शुभफलको सम्भावना देखिन्छ । गहुँ एवं सस्यूँ प्रजातिका अनाज तथा दुग्ध उत्पादनमा वृद्धि हुनाले समाजमा केही सुखको सञ्चार हुनेछ । 

मेघेश शनिका कारण अल्पवृष्टि, सरकारको क्रियाकलापका कारण जनमानसमा सन्ताप, विविध सङ्क्रामक रोगका कारण जनता दुःखी हुनेछन् । रसेश गुरुका कारण जनमानसमा थोरै भएपनि सुखानुभूति, तालतलाउहरूमा जलवृद्धि, ब्रह्मज्ञानी साधुसन्त, ब्राह्मण एवं प्राज्ञिकजनप्रति लोकको सम्मानजनक भाव बढ्नेछ । मुगा, तामा, रक्तचन्दन, रातो वस्त्रलगायत राता वर्णका वस्तुहरूमा हुने लगातार विशेष मूल्यवृद्धिको कारक निरसेश मङ्गल रहनेछ । फलेश शुक्र भएकाले धरा हराभरा देखिनेछ । शासकवर्ग भोगविलासमा प्रवृत्त हुनेछन् । ब्राह्मणहरू वेदादि शास्त्रको पाठपारायण, एवं अध्ययन–अनुसन्धानमा लाग्नेछन् । धनेश मंगलका कारण सरसामानमा व्यापक मूल्यवृद्धि हुनाले उपभोक्ता मारमा पर्नेछन् । मूल प्रजाति बाहेकका धानहरूको उत्पादन साहै न्यूनमात्रामा हुनेछ ।
 
दुर्गेश शनिका कारण न्यायपूर्वक सुरक्षा संयन्त्र परिचालन नहुनाले गाउँ, शहर कतै पनि सुरक्षासुखको अनुभूति हुनेछैन । देश विग्रहमा जानसक्ने खतरा रहनेछ । राज्यसंयन्त्र परनिर्देशनमा चल्नाले नागरिकहरू पलायन हुने क्रम बढ्नेछ । 

पृथ्वीमा कहिँ कतै पनि कृषिधनको प्राप्ति गर्न कृषकहरू समर्थ हुने छैनन् । सूर्यको आर्दाप्रवेशसमय विचार गर्दा फलका हिसाबले तिथि र योगको उत्तम संयोग परे पनि वार र नक्षत्र सामान्य छन् । तसर्थ शुभाशुभ मिश्रित फलप्राप्ति हुने अवस्था छ । 
जगल्लग्नकुण्डलीमा लग्नेश बृहस्पति मित्रगृही भई मित्रग्रह सूर्यका साथ पञ्चम स्थानमा बसेको छ । शासकवर्गले चाहेमा असल मित्रहरूको सरसल्लाह र सहयोगले आफ्ना योजनाहरू कार्यान्वयन गराउन सफल हुनेछन् । लग्नमा चन्द्रमा र बृहस्पतिको दृष्टि रहेको छ । 

देशमा अस्थिरता वृद्धि हुनेछ तर पनि तृतीय भावमा स्वगृही शनि र मङ्गलको अवस्थिति राष्ट्रस्वावलम्बन कार्यका लागि अनुकूल रहेको छ । राष्ट्रको विकास र जनतामा आशाको सञ्चार अभिवृद्धि गराउने ध्येय भएमा ग्रहपरिषद्द्मा अवस्थित ग्रहस्थितिलाई विचार गर्दै सबैसँग सरसल्लाहका साथ संयमपूर्वक अघि बढ्नु शासकवर्गका लागि श्रेयस्कर हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ