धार्मिक र साहसिक पर्यटन पूर्वाधार निर्माणसँगै प्रबर्दनमा जुट्न चन्द्र ढकालको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
508
Shares
बाग्लुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनामा जुट्न आग्रह गरेका छन् ।
मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमी मेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताएका हुन् ।
हिन्दू धर्मावलम्बीका लागि बाग्लुङ कालिका पुग्नुपर्ने गन्तव्य बनेको र पन्चकोटलगायत थप गन्तव्यहरु लोकप्रिय भइरहेकाले पनि होटल तथा यातायातका आधुनिक पूर्वाधारमा लगानी बढाउनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।
पोखरा आउने पर्यटकका लागि पर्वतमा बन्जी तथा अन्य साहसिक स्थलहरूको विकास भएकाले गण्डक क्षेत्रमा साहसिक र धार्मिक पर्यटनलाई एकीकृत रुपमा प्रर्वद्धन गर्न सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
कालिगण्डकी कोरिडोरको निर्माणले यो क्षेत्रका धार्मिक गन्तव्यको यात्रा सहज भएकाले बाह्रै महिना कोरला नाका खोल्ने र चिनियाँ पर्यटक भित्र्याउन थप पहल गर्नुपर्ने अवस्था आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
काठमाडौँमा चन्द्रागिरीको भालेश्वर मन्दिर, नवलपरासीको मौलाकालिका, बुटवलको कामाख्या देवीको मन्दिर, सुदूरपश्चिम कर्णाली चिसापानीमा जालपादेवी मन्दिरदेखि पूर्वको पाथिभरा देवीको दर्शन सहज बनाउन केबलकार निर्माण गरिरहेको प्रसङ्ग जोड्दै अध्यक्ष ढकालले धार्मिक पर्यटन प्रबर्दनमा सबै क्षेत्रको सहयोग भए पर्यटनमार्फत् समृद्धि र रोजगारी सृजनामा ठूलो काम गर्न सकिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे ।