arrow

कतारी राजाको भ्रमण: द्विपक्षीय सम्बन्ध विस्तारसँगै लुकेका आयामहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
ramchandra-thani-qatar.jpg

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमद अल थानी काठमाडौँ आएका छन् । मध्यपूर्व क्षेत्रबाट अहिलेसम्मकै उच्चस्तरीय भ्रमणको रुपमा रहेको यो भ्रमणलाई नेपाली पक्षले निकै महत्व दिएको छ ।

यो अवसरमा सरकारले सार्वजनिक बिदा मात्रै दिएको छैन राष्ट्रपति रामचन्द्र पौडेल स्वयं विमानस्थलमा थानीलाई स्वागत गर्न गएका छन् । कुनै पनि देशको राष्ट्रप्रमुख विमानस्थलमा पुग्नु सबैभन्दा उच्च स्तरको सम्मान हो ।

यो भ्रमणलाई नेपालले यति धेरै महत्व दिइरहँदा भ्रमणको खासै ठूलो एजेण्डा भने छैन । नेपालले कतारसँगको श्रम सम्झौता नवीकरणलाई विशेष चासो दिए पनि यो भ्रमणको समयमा उक्त सम्झौता नहुने निश्चित भएको छ । त्यसबाहेक दुई देशका केही मन्त्रालयबीच सम्झौतामा हस्ताक्षर हुने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

कतार नेपालीहरुको एक मुख्य श्रम गन्तव्य मुलुक हो । अहिले कतारको कुल जनसंख्या भन्दा नेपाली कामदारको संख्या धेरै भएको बताइन्छ । अहिले कतारमा झण्डै ५ लाख नेपाली छन्, यो त्यहाँको कुल जनसंख्याको झण्डै १५ प्रतिशत हो । 

आप्रवासी श्रमिक सबैभन्दा धेरै भएमध्येको एउटा मुलुकको रुपमा नेपाललाई कतारले महत्व दिनु स्वभाविक नै भए पनि अहिलेको भ्रमणको अर्थ विशुद्ध द्विपक्षीय सम्बन्ध तथा आपसी हितको विषयमा मात्रै केन्द्रित रहेकोमा परराष्ट्रविदहरु नै संशय व्यक्त गर्छन् । 

यस्तो छ कतारको भूराजनीतिक पृष्ठभूमि
कतार मध्यपूर्वको एउटा उच्च आय भएको विकसित देश हो । क्षेत्रफलको हिसाबले नेपालको बाग्मती प्रदेशको भन्दा आधा मात्रै क्षेत्रफल रहेको कतारले पछिल्लो समय गरेको विकास आश्चर्यजनक छ । तर जसरी कतारले विकासको फड्को मारिरहेको छ, त्यो मध्यपूर्व क्षेत्रकै टाउको दुखाइ पनि बनिरहेको छ । 

मुस्लिम देश नै भए पनि कतारको सम्बन्ध मध्यपूर्वका अन्य मुस्लिम राष्ट्रसँग खासै सुमधुर छैन । दक्षिण एसियाली मुस्लिम मुलुकहरु पाकिस्तान र बंगालदेशसँग कतारको सम्बन्ध त्यति धेरै राम्रो छैन । मुस्लिम मुलुकहरुमध्ये साउदी अरेबिया, इजिप्ट, यूएईलगायत मुलुकहरु तुलनात्मक रुपमा सफ्ट र बढी उदार मानिन्छन् । ती देशहरुको सम्बन्ध अमेरिकासँग पनि राम्रो छ । 

तर कतारको सम्बन्ध भने अमेरिकाको शत्रु मानिने इरान र प्यालेस्टाइन, टर्की लगायतसँग छ । त्यतिमात्रै नभएर इस्लामिक आतंववादी संगठन हमास, हिजबुल्लाह र मुस्लिम ब्रदरहुड लगायत देशसँग पनि कतारको निकै राम्रो सम्बन्ध भएको बताइन्छ ।

कतारी अमिरले ती संगठनहरुको प्रशंसा गरेको भिडियो सार्वजनिक भएपछि कोरोना महामारी शुरु हुँदाको समयमा अन्य अरबी मुलुकहरुले कतारमाथि नाकाबन्दीसमेत लगाएका थिए । 

कतारमाथि लगाइएको नाकाबन्दी खुला गर्न साउदीले विभिन्न १३ वटा शर्त तेस्र्याएको थियो । त्यसमध्ये इरानसँगको सम्बन्ध तोड्नुपर्ने, कतारी मिडिया अल–जजिराको प्रसारण बन्द गर्नुपर्ने लगायत शर्त थिए । तर कतारले त्यतिबेला कुनै पनि शर्तहरु स्वीकार गरेन । प्राकृतिक ग्यासको ठूलो उत्पादक राष्ट्रको रुपमा रहेको कतारले वर्षौंका लागि ग्यास आपूर्ति सम्झौता गरेको र सामान आयातका लागि समुन्द्रसँग पहुँचसमेत भएका कारण त्यतिबेला कतारले अरबी राष्ट्रको नाकाबन्दीलाई सहजै सामना गर्यो । अर्थतन्त्रमा ठूलो प्रभाव नै नपारिकन कतारले आफूलाई सर्भाइभ गर्यो । सोही कारण मध्यपूर्वका ती राष्ट्रलाई गलाउन कतार सफल भएको थियो ।

आतंकवादमा सहयोग गरेको आरोप

आर्थिक रुपमा सम्पन्न भए पनि कतारमाथि आतंकवादी क्रियाकलापलाई सहयोग गरेको आरोप भने लाग्दै आएको छ । युरेनियम प्रशोधनका लागि इरानलाई सहयोग गर्ने, इजरायलविरुद्ध आक्रमणका लागि प्यालेस्टाइन र हमासलाई कतारले जहिलै सहयोग गर्दै आएको छ । त्यस्तै, मध्यपूर्वका अन्य देशहरुमा आतंकवादी क्रियाकलापमासमेत कतारको लगानी हुने गरेको आरोप लाग्दै आएको छ । 

त्यतिमात्रै होइन दक्षिण एसियाली देशको मुस्लिम संगठनहरुमासमेत कतारले निकै ठूलो लगानी गरेको बताइन्छ । त्यही भएर दक्षिण एसियाका कुनै पनि देशसँग कतारको त्यति गज्जब सम्बन्ध छैन । भारतको सम्बन्ध पनि यूएईसँग निकै राम्रो हुँदा कतारसँग राम्रो छैन । कतारले भारतमा रहेका मुस्लिमहरुलाई उचालेर हिंसा भड्काउन सहयोग गरेको आरोप समय समयमा लाग्दै आएको छ । 

भारतसँग सीमानाका जोडिएका र धार्मिक दृष्टिले महत्व राख्ने क्षेत्र नेपालको क्षेत्रका रहेका मुस्लिममाथि अहिले पनि कतारले ठूलो लगानी गरिरहेको विभिन्न स्रोतहरूले जनाएका छन् । यतिसम्म कि गौतमबुद्धको जन्मस्थल रहेको लुम्बिनी क्षेत्रको नगरपालिकामा मुस्लिम उम्मेदवार निर्वाचित हुने अवस्था छ । त्यस्तै बाराको गढीमाईलगायत रौतहट, बारा तथा पर्सा जिल्लाको महत्वपूर्ण धार्मिक क्षेत्र तथा भारतसँग सीधा पहुँच भएका क्षेत्रमा मुस्लिम अतिवादी गतिविधि बढ्दै गएको आरोपसमेत लाग्दै आएको छ । 

यो अवस्थालाई नियन्त्रण गर्न खोज्दा कतारले कामदार बन्द गर्ने धम्की दिने गरेकोसमेत परराष्ट्रसम्बद्ध अधिकारीहरु अनौपचारिक रुपमा बताउने गरेका छन् । 

कतारी राजाको भ्रमणको भू–राजनीतिक अर्थ

कतारी राजाको नेपाल भ्रमण यस्तो समयमा भइरहेको छ जुन समयमा भारतमा १८ औँ लोकसभाको चुनाव भइरहेको छ । यो दौरानामा थानीले नेपाल भ्रमण मात्रै गरेका छैनन् काठमाडौँ उत्रिनुअघि उनले बंगलादेश र फिलिपिन्सकोसमेत भ्रमण गरेका छन् । यी तीनवटै देश भारतीय प्रभाव बढी भएका मुलुक मानिन्छन् । 

नेपाली सत्ता पक्षसँग भारतको सम्बन्ध कहिले नजिक, कहिले टाढाजस्तो देखिए पनि नेपालको आर्थिक, सामाजिकदेखि सांस्कृतिक निर्भरतासमेत भारतसँग उच्च छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पनि भारतसँग अत्यन्तै निकट सम्बन्ध छ । भारतको निकट सम्बन्ध रहेकी हसिना चुनावमार्फत पटक पटक सत्तारोहण गर्दै आएकी छिन् । 

उता दक्षिण चीन सागरको क्षेत्राधिकार विवादका कारण अहिले फिलिपिन्स र चीनबीच राम्रो सम्बन्ध छैन । त्यसैले फिलिपिन्सले भारतलाई बढी महत्व दिँदै आएको छ ।

भारतसँग राम्रो सम्बन्ध तथा उच्च निर्भरता भएका मुलुकमा भारतको निर्वाचनको समयमा भएको भ्रमणले कुनै न कुनै रुपमा त्यसलाई प्रभावित पार्ने मनसाय हुनसक्नेसमेत विश्लेषकहरुको भनाइ छ । 

भारतले हालैमात्र फिलिपिन्सलाई ब्रह्मोस मिसाइल दिएको छ । यसको प्रहार दूरी २९० किलोमिटरसम्म रहेको बताइएको छ । 

अहिले कतार भारतमा नरेन्द्र मोदी सरकारको निरन्तरताको पक्षमा छैन । उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारले त्यहाँ अवैध रुपमा सञ्चालनमा रहेका १६ हजार मदरसाहरु बन्द गराउने प्रक्रिया अघि बढाएपछि अहिले कतार भारतदेखि भित्रभित्रै रुष्ट छ ।

नेपालको तराई बेल्टमा रहेका ५० हजार भन्दा बढी मुस्लिमहरु बिहार राज्यका विभिन्न क्षेत्रका मतदाता रहेको बताइन्छ । ती क्षेत्र र भारत समेतका मतदातालाई मनोवैज्ञानिक रुपमा प्रभाव पार्नेसमेत भ्रमणको उद्देश्य हुनसक्ने कतिपय रणनीतिकारहरुको बुझाइ देखिन्छ । त्यसैले यो भ्रमणलाई भारतलेसमेत नजिकबाट नियालिरहेको छ । 

कतारी राजाको यो भ्रमणको अरु सामरिक महत्वको बुझ्न भने दुई देशबीचको सम्झौतालाई नियाल्नु पर्ने एक जना सामरिक महत्वका जानकार बताउँछन् ।

खासगरी चीनले नेपालमा लगानी गर्न चाहेर पनि सफल नभएको फाइभजी परियोजना, पश्चिम रुकुमको फलाम खानी, दैलेखको पेट्रोलियम खानी, तल्लो मुस्ताङको प्राकृतिक ग्यास खानीलगायत विषयमा सम्झौता हुन्छ कि हुँदैन भन्ने विषयले महत्व राख्ने परराष्ट्र मामिलाका ती जानकारको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ