arrow

राई जातिको पितृघर सुनाकोठीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
rai-pitrighar-lalitpur.jpg

काठमाडौँ । राई जातिमा पर्ने सिप्तुङखा वंशको सामूहिक चुलासहितको माङखिम (पितृघर) ललितपुर सुनाकोठीमा बनाइने भएको छ । 

किरावा सिप्तुङखा वंश उत्थान समाज यलेखोम (उपत्यका) समन्वय समितिले उक्त ठाउँमा सात आना एक पैसा जग्गा खरिद गरी प्रक्रिया अघि बढाएको हो । पहिलो चरणमा तीन महिना अभियान चलाई रकम जुटाएर जग्गा खरिद गरिएको समितिका अध्यक्ष काजी सिप्तुङखाले बताएका छन् । 

‘हामीले जग्गा त खरिद गर्न सक्यौं । यतिले मात्र हुँदैन । अब माङखिम बनाउनु छ’, उनले हालै काठमाडौंमा आयोजित बृहत् वार्षिक भेलामा भने, ‘लक्ष्यअनुसार माङखिम बनाउनुपर्छ । सबैले छाती चौडा बनाऔं । जुटौं । हातेमालो गरौं ।’ 

कोषाध्यक्ष अरुण सिप्तुङखाका अनुसार जग्गा किन्दा ८२ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । ‘७२ लाख ५६ हजार अभियान चलाएर जम्मा भएको छ । केही जिल्लाबाट प्रतिबद्धता आएको छ’, उनले भने । 


उपाध्यक्ष मित्रकुमार सिप्तुङखाले दाजुभाइ मात्र होइन, गैरदाजुभाइलाई पनि सोचेर पनि सोचेर माङखिम बनाउन लागेको बताए । ‘हाम्रो उद्देश्य सेवा गर्ने हो’, उनले भने । यस अभियानमा अपेक्षाभन्दा धेरै आर्थिक सहयोग प्राप्त गरेको उनले सुनाए । 

समाजका केन्द्रीय सदस्य अग्नि सिप्तुङखाले तीन वर्षदेखिको सोचअनुरूप तीन महिनामा जग्गा खरिद सम्पन्न भएको सुनाए । केन्द्रीय अध्यक्ष राजबहादुर सिप्तुङखाले संस्थाको उपत्यका समितिले ऐतिहासिक कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । 

‘हामी इतिहास हराएको मान्छे । पहिचान हराएको मान्छे । इतिहास, पहिचान खोज्दै छौं’, उनले भने । त्यसकारण माङखिम निर्माणका लागि जग्गा खरिद कार्य ऐतिहासिक कदम भएको उनको भनाइ थियो । 

केन्द्रीय कोषाध्यक्ष बेनु सिप्तुङखा, सदस्य अजय सिप्तुङखा, उपत्यकाका सल्लाहकार बसन्त सिप्तुङखा र सचित सिप्तुङखाले राई जातिमा तीन चुला (सुप्तुलुङ) र माङखिमको महत्वबारे प्रकाश पारेका थिए । 

उक्त कार्यक्रममा नेपाल सरकारका पूर्वसहसचिव अरुणकुमार राई (सिप्तुङखा), संस्थाको अभियानमा अभिभावकीय भूमिका निर्वाह गर्ने कलावती सिप्तुङखा, निवर्तमान अध्यक्ष नारायणप्रसाद सिप्तुङखा, अग्रज आइतमान सिप्तुङखालाई सम्मान गरिएको थियो । 

केन्द्रीय अध्यक्ष राजबहादुरले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरेका थिए भने उपत्यका अध्यक्षले फेटा गुँथाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ